विराटनगर । कोशी प्रदेश सरकारले मुख्य न्यायाधिवक्ता नियुक्त गरेको छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज अधिवक्ता रुपेश कोइरालालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।
नव नियुक्त मुख्य न्यायाधिवक्ताको शपथ दिउँसो १ः४५ बजे हुने छ । उनलाई उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद भण्डारीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जानकारी दिए ।
कोइराला यस अघि २०७८ चैत्रमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अवैतनिक कानुन विज्ञको रुपमा नियुक्त भएका थिए । त्यसबेला पनि वर्तमान मुख्यमन्त्री कार्कीे (तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री) ले कोइरालालाई कानुन विज्ञको रुपमा नियुक्त गरेका थिए ।

