प्रचण्ड भ्रमणको परिणामः १० हजार मेगावाट बिजुली निर्यातको सम्झौतामा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा आज दुई देशका उर्जा सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने सम्झौतामा भारतले हस्ताक्षर गरेको हो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा भएको सहमतिले अहिले औपचारिकता पाएको हो ।

बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको बिजुली आयात गर्ने सम्झौता गर्ने प्रतिद्धबता प्रधानमन्त्री प्रचण्डको भ्रमणको क्रममा गरेका थिए ।

भारतको सङ्घीय मन्त्रिपरिषद्ले यसअघि नै विद्युत् आयातसम्बन्धी सम्झौतालाई अनुमोदन गरिसकेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा दुई देशका सचिवले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपछि भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीनरूपमा विद्युत् खरिद–बिक्री सम्झौता गरी बिजुली लिनेछन् ।

नेपाल र भारतका निजी क्षेत्रले पनि आवश्यक सहमति गरेर बिजुली आयात निर्यात गर्न सक्नेछन् । सरकारले आगामी १२ वर्षमा कुल २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीतिसमेत बनाएको छ । त्यसमध्इे १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य छ ।

ऊर्जामन्त्री बस्नेतले दुई देशबीच ऊर्जा क्षेत्रमा सार्थक सहकार्य आरम्भ भएकामा खुसी व्यक्त गर्दै त्यसलाई थप निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन् । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्नेसम्बन्धी सम्झौताले दुई देशको सम्बन्धलाई थप उचाइमा पुर्याउने उनको भनाइ छ ।

अहिले नेपालको विद्युत उत्पादन क्षमता २८ सय ९२ मेगावाट पुगेको छ। करिब ५४१ मेगावाट यहि वर्षमा मात्रै थप भएको हो। भारतले गत वर्षदेखि मात्रै नेपालबाट बिजुली लैजान सुरू गरेको छ। अहिले नेपालले भारतीय बजारमा ५०० मेगावाटभन्दा बढी बिजुली बिक्री गर्ने अनुमति पाएको छ।

बिहिबार, १९ पुष, २०८०, दिउँसोको ०३:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर