हुलाकी मार्गका लागि आन्दोलन हो, अपराध होइन !

  पुण्य पि अधिकारी

विराटनगर महानगरपालिका–७ स्थित सातघुम्तीमा रहेको कवाडीखानामा ०८० मंसिर २० गते आगलागी हँुदा तीन जनाले ज्यान गुमाए । आगो नियन्त्रणका लागि दुहवी, इटहरी,सुन्दरहरैँचाका दमकल प्रयोग गरिएको थियो । छिमेकी रंगेली नगरपालिकाको दमकल विराटनगरलाई आपत पर्दा आउन सकेन ।

विराटनगर र रंगेलीको दूरी बढीमा १७ किलोमिटर छ । तर विराटनगरदेखि पूर्व र रंगेलीदेखि पश्चिमको हुलाकी राजमार्गको १७ किलोमिटर यात्रा पुरा गर्न सवारी साधनलाई एक घण्टाभन्दा बढी लाग्छ । किन त्यति धेरै समय ? कारण सटिक छ, हुलाकी मार्ग निर्माणका लागि भनेर ठेकेदारले हुँदाछँदाको बाटो हतारमा भत्काए तर काम कहिल्यै गरेनन् ।

बाटो निर्माणका लागि पटकपटक प्रशासनमा सरकारका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय र ठेकेदार छलफलमा बसे तर सडक निर्माणका लागि श्रमिक र यन्त्र उपकरण सो क्षेत्रमा बसेनन् । जसका कारण सकड निर्माण तत्काल गर भन्दै स्थानीय आन्दोलित छन् ।अलपत्र छाडिएको सडक निर्माणको माग गर्दै स्थानीयले सो क्षेत्रमा पटकपटक आन्दोलन गर्दै आएका छन् । तर ठेकेदारलाई छु मतलव जत्तिकै छ । ठेक्का लगाउँदा कर्मचारीले कमिसनको लोभमा उस्तै किसिमको ठेकेदारलाई योजना दिएपछि समयमा काम हुने कुरा भएन । जसका कारण स्थानीयले आन्दोलन गरिरहनु परेको छ ।

कमिसनको लोभमा गरिएको सम्झौतापछि ठेकेदारले नियामक निकायलाई टेरदैन । जस कारण हुलाकी राजमार्गको मोरङ खण्डमा सधै तमासा भइरहेको छ । अचम्म त के छ भने, भत्काएको सडक तत्काल निर्माण गर भन्दै आन्दोलन गर्नुपर्ने, विकासका लागि आन्दोलन गर्नुपर्ने ।
खासगरी कटहरी गाउँपालिका क्षेत्रमा पर्ने हुलाकी सडक भत्काएर अलपत्र अवस्थामा छोडेका कारण सवारी दुर्घटनामा मानिसको ज्यान गएको छ । केठेदार वा नियामक निकायका जिम्मेवारलाई त्यसरी ज्यान गुमाएका मानिसको जीवन फुटेको कौँडी भन्दा सस्तो लागेको होला । त्यसरी ज्यान गुमाउनेमा उनीहरुका सदस्य भए तबमात्र ज्यानको मूल्य बुझ्ने थिए होला ।

२०७६ सालमा चार लेन सडक निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको थियो । तर सम्झौतामा सडक पुरा भएन, राज्यले ठेकेदारलाई कारबाही गर्न सकेन, किनभने पहिल्यै कसिमनको चक्करमा नियामक निकाय कारबाही गर्ने अवस्थामा छैन । जसका कारण प्रशासनमा बोलाएर छलफल राख्ने तर अघि नबढ्ने नियति जगजाहेर छ । बुधबार स्थानीयले सडक तत्काल निर्माण गर्न भन्दै विरोध गरे, सवारी साधन रोक, सर्वसाधारणले दःख पाए ।

सकड खराब भएका कारण एम्बुलेन्स हुलाकी राजमार्ग भएर विराटनगर जान मान्दैनन् । इटहरी वा विराटचौक भएर घुमाएर लैजानुपर्ने बाध्यताका कारण विरामी वा बिरामीका आफन्तले महंगो शुल्क तिर्नु परेको छ । कटहरीमा स्थानीयले सडक निर्माण समयमा गर भनेर आन्दोलन गरेका हुन् । अपराध गरेका होइनन् ।

बिहिबार, १९ पुष, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर