विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

कोशी प्रदेशको मतदानस्थल रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

निर्वाचनका मुख्य निर्वाचत अधिकृत तोकिएका जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले सोमबार निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरेका हुन् । सो अवसरमा निर्वाचन अधिकृत ढुङ्गेलले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउनका लागि सबै पक्षलाई आह्वान गरेका छन् । राजनीतिक दलका प्रतिनिधिहरूसँग चाँडै बैठक गरि निर्वाचनबारे छलफल गर्ने उनले बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निर्वाचनलाई तीन वडा सुरक्षा घेरामा राखेर सुरक्षा व्यवस्था कडा बनाउने बताए । कोशी प्रदेशमा २ पदका लागि निर्वाचन हुँदैछ । एक महिला र एक अन्य पदको निर्वाचन हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले जानकारी दिए ।

राष्ट्रिय सदस्य निर्वाचनको कार्यक्रम पुस २० गतेदेखि शुरु हुनेछ । निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुखउपप्रमुख २७४ गरि ३६७ जना मतदाता छन् । आगामी फागुन २० गतेदेखि कार्यकाल सकिने नेपाली काँग्रेसका रमेशजंग रायमाझी र नेकपा माओवादी केन्द्रकी विना पोखरेलको स्थानमा निर्वाचन हुन लागेको हो ।