बिक्रम लुइँटेल
विराटनगरका उद्योगी व्यवसायी अर्थमन्त्री, प्रधानमन्त्री, अर्थसचिव र सरकारमा हैसियत राख्ने मन्त्रीहरु मात्रै होइन कहिले काहीं राष्ट्रपतिलाई पनि कार्यक्रममा ल्याउने गर्छन् । यो परम्परा लामो समयदेखि चल्दै आएको छ । पछिल्लो समयमा विराटनगरमा उद्योगी व्यवसायीबीच उनीहरुकै संगठनभित्र कुनमा लाग्दा ठुलो पद पाइन्छ र कुन नेता या मन्त्री वा त्योभन्दा ठुलो नेता ल्याउँदा आफ्नो कार्यक्रम भव्य भएको र आफू पावरफुल भएको महशुस हुन्छ, त्यसै गर्छन् । उनीहरुको कार्यक्रम दुई दशकभन्दा बढीदेखि मैले आफैले पनि नजिकबाट हेरिरहेको छु ।
कार्यक्रममा यस्ता व्यक्तिहरु अथितिको रुपमा आइसकेपछि अनि उद्योगीहरुको भाषण गनगने… प्रवृतिको हुन्छ । यस्तो भएन, उस्तो भएन, औद्योगिक वातावरण छैन, सरकारले केही गरेन, हामी पलायन हुन बाध्य भइसक्यौं, व्यवसाय चौपट छ । यो सदाबाहर भाषण भइसक्यो । मञ्चमा गएर भाषण गर्नेलाई त आनन्दै होला । तर हामीजस्त नियमित स्रोता र पत्रकारका लागि भने यो गनगने प्रवृति लागिसक्यो ।विराटनगरको उद्योग व्यवसायले पछिल्लो समयमा कुनै सकारात्मक सन्देश दिने काम गर्न सकेको छैन त ? कि कुनै उदाहरणीय उद्योगहरु खुलेका छैनन् ? यस्ता उद्योगहरु जसले रोजागार पनि दिएका र उत्साह पनि जगाएका छँदै छैनन् त ? यी यावत कुराहरु पनि बाहिर ल्याएर उर्जा भर्नुपर्ने व्यवसायीहरु निरन्तर किन यस्तो कुरा गरिरहेका छन् ? किन हरेक मञ्चबाट निराशा मात्र पस्किरहेका छन् ?
अब विराटनगरका उद्योगी व्यवसायीले उदाहरण प्रस्तुत गर्ने गरी काम गर्ने कि नगर्ने ? भएका स–साना र राम्रा कुराहरुलाई प्रचार गर्ने कि नगर्ने ? यस्ता विषयलाई पनि बाहिर ल्याउँदै आशाको दियो बाल्न सक्नुपर्यो । यी त भए उद्योगीका कुरा । पछिल्लो समयमा मेला होस् या उत्सव अथवा उद्योगी व्यवसायीका कार्यक्रमहरु । कार्यक्रम सञ्चालन गर्ने प्रवृति पनि बेढंगका हुन थालेका छन् । उद्योगी व्यवसायीहरु उद्योगीलाई सम्मान गर्न होइन कि हुल बाँधेर योगदान नहेरीकन आफ्नो जिम्मेवारी र कार्यक्षेत्र बाहिर प्रजातन्त्रका सेनानी भन्दै सम्मान कार्यक्रम गर्न थालिसके । उद्योगीले उद्योगीलाई सम्मान गर्नुपर्यो । उनीहरुले जान्ने उद्योगीकै विषयमा हो, अर्थतन्त्रको विषयमा हो । अनि मात्र हामी ठिक ठाउँमा पुग्छांै । यदि सम्मान नै गर्न परे त्यस्ता व्यक्तिहरुलाई प्रजातन्त्रको सेनानी भनियोस्, जो ७ सालदेखि ६२–६३ को आन्दोलनसम्म आउँदा विचलित नभएका छन् । राजाको शासन हुँदा मन्त्री हुन जाने, पञ्चायतमा प्रधानपञ्च हुनेहरु प्रजातन्त्रका सेनानी हुन सक्दैनन् । यस्त विषय सोच्नुपर्दछ ।
राष्ट्रपति व्यक्ति हैन, संस्था हो । त्यो पदको गरिमा, महत्व र मूल्य सबै नागरिकले कायम गर्नुपर्छ । राष्ट्रपति आउने कार्यक्रममा राष्ट्रपति आइसकेपछि अरु कार्यक्रम स्थगित गरेर भएपनि उनलाई नै प्राथामिकता दिनुपर्छ । त्यसले मात्र संस्थाको गरिमा र इज्जत बढ्छ । कार्यक्रम सञ्चालनमा कसको नाम अतिथिमा आयो या आएन, ती सामान्य कुरा भइसके । कसले बोल्यो, कसले बोलेन यो पनि सामान्य हो । राष्ट्रपति आउने कुरासँगै प्रधानमन्त्री आउने कार्यक्रमका सञ्चालनहरु पनि सांगतिक कार्यक्रमका जस्ता हाहा.. र हुहु.. हुन थाले । यसले हाम्रा कार्यक्रमहरु कसरी र कुन स्तरमा सञ्चालन भइरहेका छन् भन्ने मात्रै होइन, त्यो संस्था वा त्यो समुदायलाई हेर्ने दृष्टिकोण नै फरक पर्छ ।
मैले माथि नै उल्लेख गरे, हामी गुनासो मात्रै गछौं । अलिक अगाडि नै बढेर गनगने पनि लेखियो । यी कार्यक्रमहरुमा प्रायः अतिथिहरुलाई अत्यन्तै चाकडी शैलीमा सम्बोधन गर्ने र व्यक्तिकेन्द्रित प्रशंसा गर्ने चलन पनि बढ्न थालेको छ । यसले हामी कहाँ जाँदैछौं, भन्ने प्रश्न छ ।
हामीले हाम्रा कुराहरुलाई उत्साहीत र व्यक्तिप्रशंसा नगरीकन राख्न सक्नुपर्छ । र कतिपय कार्यक्रममा त्यसको व्यवस्थापन, त्यसको सहभागिता पनि हेर्नुपर्छ । जिल्लामा भएकाहरुलाई सम्बोधन गर्ने अनि केन्द्रमा भएकाहरुलाई पावरमा छैन भने गन्दै नगन्ने प्रवृृति पनि अन्त्य हुन जरुरी छ । मैले भन्न खोजेको यति हो कि पछिल्लो एक हप्तामा विराटनगरमा उद्योगी व्यवसायीले गरेका दुईवटा औपचारिक कार्यक्रमको ढाँचाले राम्रो संन्देश दिए । त्यसमा केही परिवर्तन गर्नु जरुरी छ ।
यद्यपि विराटनगरका उद्योगी व्यवसायीले यहाँका उद्योगीलाई सम्मान गर्ने र उद्योग व्यवसालाई प्रवद्र्धन गर्ने कार्यक्रमहरु भने स्वागतयोग्य नै छन् । जुनसुकै संस्थाका नामबाट कार्यक्रम भएपनि विराटनगरका उद्योगी व्यवसायीले मेला, महोत्सव आयोजना गर्ने र आफ्नो कुराहरु सरकारलाई सुनाउने कुरा फेरि पनि सान्दर्भिक नै छ । तर, सरकारलाई सुनाउने नाममा गुनासो मात्रै होइन सकारात्मक सञ्चार पनि होस् भन्ने मेरो सुझाव हो । विराटनगरका उद्योगी व्यवसायी मिलेर यहाँको विकास र औद्योगिक क्षेत्रमा फड्को मारुन्, अहिलेलाई यत्ति नै सुझाव ।