विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदेश सरकारलाई काम गर्न दिन संविधानको कार्यान्वयनका लागि चासो राखीदिन आग्रह गरेका छन् ।
नेपाल उद्योग परिसंघ कोशीले शनिबार आयोजना गरेको कार्यक्रममा उपस्थित राष्ट्रपतिसामु मुख्यमन्त्री कार्कीले यस्तो आग्रह गरेका हुन् । केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार नदिए संसद र सरकारबाट अधिकार प्राप्तिका लागि समन्वय र संघर्ष गर्ने उनको भनाइ थियो ।
उद्योगी व्यवसायीलाई छुट्टै रूपमा हेर्ने प्रवृतिमा परिवर्तन ल्याए मात्रै उद्योगी व्यवसायीको संरक्षण, अर्थतन्त्रमा योगदान र देश समृद्ध हुने भन्दै मुख्यमन्त्री कार्कीले उद्योगी व्वसायी छुट्टै नभई राज्यको नै अंग भएको बताएक । राज्यले त्यहि अनुसार व्यवहार गर्नु अपरिहार्य रहेको उनको भनाइ छ ।
उद्योग, व्यवसाय क्षेत्रको संरक्षण र देशको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गरेर मानवीय विकासमा प्रदेश सरकार लागिसकेको भन्दै मन्त्री कार्कीले त्यसमा संघीय सरकारले पनि सहयोग गर्नुपर्ने बताए ।
स्वतन्त्रता सेनानीलाई सम्मान गरिएको कार्यक्रममा विराटनगरका उद्योगी, व्यवसायीलगायतले राष्ट्रपति पौडेललाई अभिनन्दनसमेत गरेका थिए ।
कार्यक्रममा राष्ट्रपति पौडेलले २१ जना स्वतन्त्रता सेनानी, सबैभन्दा बढी निर्यात गर्ने उद्योगी र विराटनगरका पत्रकारद्वय अनन्त न्यौपाने र शंकर खरेललाई सम्मान गरेका थिए ।