विराटनगर । भारतबाट औद्योगिक कच्चा पदार्थ बोकेको रेल २ जुन २०२३ मा विराटनगर भन्सारमा आएको ६ महिना बितिसक्दा पनि दोस्रो पटक मालवाहक रेल फर्केर आएको छैन । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीहरुले उद्घाटन गरेको कार्गो रेल फेरि फर्केर नआउनुमा सरकारले भारतसँग गरेको रेल रुट सम्बन्धी सम्झौता नै मुख्य कारण भएको उद्योगीहरुले बताउन थालेका छन् ।भारतको बथनाह हुँदै विराटनगर भन्सारसम्मको रुटमा कार्गो रेल उद्घाटन गर्नु अघिल्लो दिन १ जुन २०२३ मा दुई देशका उद्योग तथा वाणिज्य मन्त्रीहरुले वाणिज्य सन्धिमा हस्ताक्षर गरेका थिए । उक्त सन्धिमा कोलकाता बन्दरगाहबाट जोगवनी भन्सारमा सीमित वस्तुहरु मात्र ल्याउन पाइने गरी रुट निर्धारण गरिको थियो ।
कोलकाता जोगवनी रुटबाट रसायनिक मल, पत्थर कोइला, क्लिंकर र सिमेन्टमामात्र ल्याउन पाइने गरी कार्गो रुट तय गरिएको थियो । ‘यो रुटलाई बल्क कार्गो स्पेसिफाइड गरिएको छ, त्यसैले गर्दा उद्योगी व्यवसायीहरुले यो रुटबाट वस्तु आयात गर्न सकिरहेका छैनन्,’ उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले भने । सीमित वस्तु मात्र ल्याउन पाइने भएपछि औद्योगिक कच्चा पदार्थहरु, तेस्रो मुलुकबाट आयात गरिएका अन्य वस्तुहरु ल्याउन नसक्दा कार्गो रेलको उपयोग गर्न नसकिएको उद्योगीहरुको भनाइ छ ।
भारतले पछिल्लो समय बिशाखापटनम् बन्दरगाहलाई महत्व दिएर सञ्चालन गरिरहेको छ । नेपालले बिशाखापटनम् बन्दरगाह नै प्रयोग गरोस् भन्ने भारतको चाहना छ । सोही कारण भारतले पछिल्लो सन्धिमा बिशाखापटनम् बन्दरगाहबाट जोगवनी र रक्सौल रुटमा जुनसुकै वस्तु आयात गर्न सक्नेमा सहमति गरेको छ ।
कोलकाताबाट रक्सौलबाहेकका बाँकी रुटमा सीमित वस्तु मात्र ल्याउने व्यवस्था गर्नुले बिसखापटनम् बन्दरगाहलाई थप ब्यस्त बनाउन खोजेको स्पष्ट हुन्छ । कार्गो रेलबाट सामान आयात हुन नसक्नुको कारण पछिल्लो सन्धिले बाधा पुगेको भन्ने विषयमा विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकाल सहमत छैनन् । उद्योगी व्यवसायीहरुले सामान बुक नगरेकै कारण कार्गो रेल नचलेको उनको भनाइ छ ।
‘विराटनगरको आइसिपीसम्म कार्गो रेल ल्याउन कुनै पनि बाधा छैन, पूर्वाधारहरु सबै ठिक छन्, आएको सामान क्लियर गर्न हामी तत्पर भएर बसेका छौं, जोगवनी कस्टम पनि सामान आएमा क्लियरेन्स गर्न कुनै समस्या छैन भनेर भनिरहेको छ,’ भन्सार प्रमुख ढकालले भने ‘मेरो हिजो मात्र जोगवनी कस्टमका अधिकारीसँग कुरा भएको थियो र उहाँहरुले सामान आयो भने हामी क्लियरेन्स गरिदिन्छौं कुनै समस्या छैन भनेर भन्नुभएको छ ।’
कार्गो रुट सम्बन्धी सन्धिको व्यवस्थाले समस्या भएको कुरा सत्य नभएको उनको भनाइ छ । यहाँका व्यापारीहरुले कार्गो बुक नगरेकै कारण रेल नआएको प्रमुख ढकालले बताए । ‘उहाँहरुले बुक गर्नुभएकै छैन अनि सामान कसरी आउँछ त, केही बाधा छन् भने स्पष्ट भन्नु पर्यो हामी सहजीकरण गर्छौं । तर बुक नै नगरी सामान आएन कसरी भन्नु,’ प्रमुख ढकालले भने ।
यस क्षेत्रका उद्योगी व्यवसायीहरुले लामो समयदेखि कोलकाता बन्दरगाहा प्रयोग गरेर वस्तु आयात गरिरहेका छन् । उनीहरुले बिसखापटनम् बन्दरगाह प्रयोग गर्न रुचि देखाइरहेका छैनन् । ‘व्यापारीहरुले कोलकाता बन्दरगाहबाटै ९० प्रतिशत भन्दा बढी सामान आयात गरिरहेका छन्,’ उद्यो संगठन मोरङका अध्यक्ष सुरानाले भने ‘९० प्रतिशत सामान आयात हुने बन्दरगाहलाई बल्क कार्गो स्पेसिफाइट गरिदिएपछि कसरी कार्गो रेल बुक गर्न सकिन्छ ? यो समस्या हो । यस्तो सन्धिमा हाम्रो सरकारले नबुझी कसरी हस्ताक्षर ग¥यो ?’
अध्यक्ष सुरानाको भनाइसँग विराटनगर भन्सारका प्रमुख ढकाल असहमत छन् । उनी भन्छन् ‘कोलकाताबाट ९० प्रतिशत वस्तु आयात हुन्छ भन्ने तथ्य नै गलत छ, अहिले बिशखापटनम्तर्फ धेरै सिफ्ट भइसकेको छ र त्यहाँबाट ठूलो परिमाणमा आयात गर्न सहज पनि छ ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री प्रचण्डले संयुक्त उद्घाटन गरेपछि विराटनगर भन्सारमा आएको कार्गो रेलले आरती स्ट्रिप्ससहित केही उद्योगको कच्चा पदार्थ ल्याएको थियो । सन्धिमा उल्लेख भएको रसायनिक मल, कोइला, क्लिंकर र सिमेन्ट बाहेकको औद्योगिक कच्चा पदार्थ पहिलो खेपमै ढुवानी भएकोले पनि उद्योगी व्यवसायीको दाबी भने पुष्टि हुने देखिदैन ।
विराटनगर भन्सार कार्यालयका प्रमुख ढकालले भारतीय वस्तु र कच्चा पदार्थ कोलकाता बन्दरगाहबाट कार्गो रेलबाट ल्याउन कुनै समस्या नरहेको बताए । सन्धिमा भएको व्यवस्था तेस्रो मुलुकबाट आयात हुने वस्तुका लागि मात्र भएको उनको भनाइ छ ।कोलकाता बन्दरगाहबाट कार्गो रेलमार्फत सबै प्रकारका वस्तु जोगवनी रुटमा ल्याउन पाउनुपर्ने व्यवसायीहरुको मागप्रति विराटनगर भन्सार कार्यालय पनि सकारात्मक देखिएको छ । भन्सार प्रमुख ढकालले भने ‘उहाँहरुको सरोकार सुनेर पुनरावलोकनका लागि तीन महिनाअघि नै हामीले लेखेर पठाइसकेका छौं, त्यस विषयमा कुरा पनि भएको छ’ उनले भने, ‘तर, कार्गो रेल प्रयोग गर्न अहिले भएको व्यवस्थाले खास ठूलो बाधा गरेको भने छैन ।’विराटनगरमा रेलबाट सामान ल्याउँदा सडकको तुलनामा ढुवानी लागत प्रतिकिलोग्राम १.५ देखि २ रुपैयाँसम्म सस्तो पर्ने व्यवसायीहरूले बताउँदै आएका थिए । तर, कार्गो रेल सेवा सुरु भएपनि व्यापारीहरुले भने त्यसलाई प्रयोग गर्न चासो देखाएका छैनन् ।सरकारले पनि उद्योगी व्यावसायीले कार्गो रेल सुविधा प्रयोग नगर्नुको कारण खोजी गरी प्रोत्साहित गर्ने जाँगर चलाएको देखिदैन ।