विराटनगर । बैंक तथा वित्तीय संस्थाले मर्जर र एफपिओ वापत अर्बौ कर तिर्नु परेपछि आइतबार शेयर बजार घट्ने अनुमानविपरित आइतबार पनि नेप्से परिसूचकमा बृद्धि भएको छ ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि निरन्तरजसो बढिरहेको बजार सर्वोच्च अदालतको पछिल्लो आदेशपछि घट्ने अनुमान धेरैले गरेका थिए ।
बैंक तथा वित्तीय संस्थाहरुमाथि थपिएको करको डरले बजार प्रभावित हुने अनुमान गरिएको थियो । बैंक तथा वित्तीय संस्थाहरुले मर्जर तथा एफपीओ जारी गरी प्राप्त गरेको पूँजीगत लाभकर १२ अर्बभन्दा धेरै बुझाउनु परेपछि बजार घट्ने अनुमान थियो ।
बजारको सुरुवातमा सेलिङ्ग प्रेसर देखिएको भएपनि खरिदकर्ताहरु हाबी हुन थालेपछि बजारले पुनः सकारात्मक दिशा समातेको हो । यद्यपी सार्वैचचको फैसलाको कारण डेढ अर्ब रुपैयाँभन्दा धेरै कर बझुाएका बैंकहरुको शेयरमूल्य भने घटेको छ । समग्र बैंकिङ क्षेत्रमै यस दिन गिरावट देखिएको हो ।
आइतबार नेप्से परिसूचक २७.७५ अंक बढेर २०२२.३५ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.७० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । २९५ स्टकको १ लाख १ हजार १२८ पटकको कारोबारमा ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यस दिनको कारोबार रकम साढे ५ महिना यताकै उच्च हो । यस अघि गत असार १७ गते नेप्सेमा ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।
यसदिन १ दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने अन्य १४ स्टकको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन ७५ वटा स्टकको मूल्य घटेको छ । जसमध्ये हिमालयन लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.७७ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २५ करोड १२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन सोनापुर मिनरल्स र रिलायबल नेपाल लाइफको १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
बजारका १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.५५ प्रतिशत बढेको बजारमा बैंकिङ्ग, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक घटेको हो ।