विराटनगर । मंसिर १४ गतेदेखि बैतडीको झुलाखालबाट सुरू भएको नेकपा एमालेको झुलाघाट–चिवाञ्ज्याङ मध्यपहाडी संकल्प यात्रा आज पाँथथरको चिवाभञ्ज्याङ पुगेर समापन भएको छ ।

आइतबार चिवाभञ्ज्याङ पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारत सीमानाका चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएका थिए ।

संकल्पयात्राको अन्तिम दिन अध्यक्ष ओ‌लीसहित एमाले शीर्ष नेताहरू हेलिकोप्टरबाट नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ पुगेका थिए । १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको यात्रामा ओलीसहितका नेताहरु फिदिमसम्म गाडीमै आएका भएपनि अन्तिम दिन हेलिकप्टर प्रयोग गरेका हुन् ।

यात्रा समापन गर्दै ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धका लागि संकल्प यात्राले राजनीतिप्रति जनतामा फैलिदै गएको निराशालाई आशामा परिणत गरेको दावी गरे । अभियानले अन्य पार्टीमा समेत प्रभाव पारेको उनको भनाइ थियो ।

यात्राले देश विकासको खाका बनाउने आधार तयार गरेको दाबी गर्दै उनले गठबन्धन सरकारको कारण देशको अवस्था ओरालो लागेकोले अब एमालेले मात्र त्यसलाई सच्याउन सक्ने जिकिर गरे ।