विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ‘सेटिङ’मा थुनामुक्त गरिएको आरोप लगाएका छन्
एमालेको समृद्धिका लागि मध्यपहाडी संकल्प यात्राअन्तर्गत शनिवार दिउँसो पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले एमाले नेता टोपबहादुर रायमाझीलाई थुनामै राखेर खाणलाई छोड्नु सेटिङ भएको दावी गरे ।
अदालतको न्यायाधीश काँग्रेसको भएकोले खाणलाई छाडेर एमालेका मान्छेलाई थु्नामै राखेको ओलीको भनाइ छ । ‘कांग्रेसका बालकृष्ण खाण छुटे । तर, हाम्रा कोही साथीहरूलाई जेल राखिएको छ; उनले भने, ‘टोपबहादुरजी एमालेमा लागेको रिसले उहाँलाई जेलमै राखियो । कांग्रेसको मान्छे न्यायाधीश रहेकोले यस्तो भएको हो ।’
नक्कली भुटानी शरणनार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्रीसमेत रहेका खाणलाई पाटन उच्च अदालतले बिहीवार ३० रुपैयाँ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । यसअघि अदालतबाट खाणको मुद्दामा सुनुवाई हुनुअघि काँग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई फोन गरेर खाणको रिहाईमा सहयोग गर्न आग्रह गरेको सार्वजनिक भएको थियो । लगत्तै अदालतबाट खाण छुटेपनि एमालेका सचिव रहेका रायमाझीसहित नेताहरु भने थुनामै छन् ।
अदालतबाट ३० लाख धरौटीमा छुटेका खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार १५ लाख रुपैयाँ धरौटीमा छाडेको छ । पर्याप्त आधार भएपनि खाण छुटेको भन्दै अदालतको आलोचना भइरहेको छ । खाणलाई उच्च अदालत पाटनले थुनामुक्त गर्न आदेश दिएकै दिन महोत्तरी जिल्ला अदालतले एमालेको सांसद रहेका लक्ष्मी महतो कोइरालाई असई थमन बिक हत्या प्रकरणमा सफाइ दिएको थियो ।
कोइरीको विषयमा केहि नबोलेका ओलीले खाण रिहाईलाई भने सेटिङ भनेका हुन् । अर्को प्रशंगमा उनले राष्ट्रिय स्वाधीनताको रक्षा, विकास र समृद्धिका लागि आसन्न २०८४ को आमनिर्वाचनमा एमालेलाई बहुमत दिन आग्रह गरे ।
ओलीसहितको एमाले टोली शुक्रबार तेह्रथुमको आठराईमा बसेर पाँचथर पुगेको हो । बैतडीको झुलाघाटबाट मंसिर १४ मा सुरु भएको एमालेको यात्रा आइतबार पाँचथरको चिवाभन्ज्याङ पुगेर टुंगिनेछ ।