विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती ‘सुशील’ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर मन्त्री उप्रेतीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।
मन्त्री बनेपछि उप्रेतीले पहिलोपटक प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् । नेकपा माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका उप्रेती गत कात्तिक १७ गते मन्त्री बनेका हुन् ।
भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्री उप्रेतीलाई बधाई तथा कार्यसफलताको शुभकामनासमेत दिएका थिए । प्रचण्डसँगको भेटमा मन्त्री उप्रेतीले वन ऐन तथा नियमावलीका बारेमा छलफल गरेका छन् ।
यसैगरी, कोसी प्रदेशमा पर्यटकीय सम्भावनाका विषयमा पनि छलफल भएको छ । आगामी पुस ६ गते कोशी प्रदेश आउन लागेका प्रधानमन्त्रीलाई मन्त्रीले उप्रेतीले निम्तोसमेत दिएका छन् । प्रधानमन्त्री पुस ६ गते पूर्व आउने तयारीमा रहेको बताइएको छ ।