मुख्यमन्त्रीको गाडीमा ढुङ्गा हानेको आरोपमा चौधरी पक्राउ

विर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा ढुङ्गा प्रहार गरेको आरोपमा नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी पक्राउ परेका छन् ।

मंगलबार झापाको दमकमा मुख्यमन्त्री कार्कीको गाडीमाथि ढुंगा हानेको आरोपमा चौधरीलाई अर्जुनधारा नगरपालिका ८ स्थित घरबाटै मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरीको घटनामा संलग्नता देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरीले आफ्नो घरको गेट र ढोका फुटाएर पक्राउ गरेको चौधरीले बताएका छन् । प्रहरीले उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक लगेको छ।

सोमबार दिउँसो लागू औषध नियन्त्रणसम्बन्धी एउटा कार्यक्रममा सहभागी बन्न दमक आइपुगेका मुख्यमन्त्री कार्कीविरुद्ध कोशी नामकरणविरुद्ध असन्तुष्ट पहिचान पक्षधर समूहले कालोझण्डा देखाएको थियो । त्यसक्रममा उनको गाडीमाथि ढुंगा पनि प्रहार भएको थियो । ढुङ्गा प्रहारबाट गाडीको सिसा फुटेको थियो।

बुधबार, २७ मंसिर, २०८०, साँझको ०६:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर