धनकुटा । नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को टोली बिहीबार धनकुटा प्रवेश गर्दैछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व रहेको टोली बैतडीको झुलाघाटबाट १५ औं दिनमा धनकुटा आउँदा जिल्लामा ७ वटा कार्यक्रम हुने एमाले धनकुटाले जनाएको छ ।
संकल्प यात्राको टोलीलाई विहान लेगुवामा फूलमालासहित स्वागत गरेर जिल्ला प्रवेश गराइने एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजुलीले जानकारी दिए । लेगुवापछि पाख्रिबास, हिले, जोरपाटी र सिधुवामा कार्यक्रमहरू राखिएको उनले बताए ।
यात्राका क्रममा लेगुवामा एमाले अध्यक्ष ओलीसहितको टोलीले ज्येष्ठ नागरिकहरूसँग भेटघाट र पाख्रिबासमा कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकहरूसँग कृषिको सम्भावना र चुनौतीका विषयमा अन्तरक्रिया गर्नेछ । ओलीले हिलेमा पार्क उद्घाटन गर्ने कार्यक्रम पनि तय गरिएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटा नगरको कार्यप्रगति र भावी योजनाको विषयमा अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझाउने बताइएको छ ।
जोरपाटीमा पनि संकल्प यात्राको टोलीलाई स्वागत गर्ने तयारी छ । सिँधुवा पुगेर अध्यक्ष ओलीसहितको टोलीले त्यहाँका कृषकसहित कृषि क्षेत्रसम्बद्ध सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।
टोली तेहथुमको बसन्तपुरमा पुगेपछि सभा गर्ने तयारी छ । धनकुटा, तेह्रथुम र संखुवासभा जिल्लाले संयुक्त रुपमा सभा आयोजना गरेका हुन् । सभामा १५ हजारभन्दा बढीको सहभागिता हुने एमालेको दावी छ ।
पाँचथरको चिवा भञ्ज्याङमा पुगेर पुस २ गते समापन हुने यात्रामा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमालसहित पाँच सय नेता कार्यकर्ता सहभागी छन् ।