एमालेको मध्यपहाडी संकल्प यात्रा भोजपुरमा

विराटनगर । नेकपा एमालेको झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान खोटाङबाट भोजपुर छिरेको छ।

बुधबार बिहान खोटाङ सदरमुकाम दिक्तेलबाट अभियान भोजपुर प्रवेश गरेको हो ।

एमालेको टोलीलाई ढोल झ्याम्टासहित भोजपुरको चखेवामा स्वागत गरिएको छ । भोजपुर पुग्दा एमाले अध्यक्ष केपी शर्मा ओली किराती भेषमा सजिएका थिए । ढोल झ्याम्टासहित स्वागत यात्रामा ओलीसहितको टोलीलाई एमालेका भोजपुर अध्यक्ष शरण राईसहितले स्वागत गरेका थिए ।

मंसिर १४ गते झुलाबाट सुरु भएको अध्यक्ष ओली नेतृत्वको टोली मंगलबार कोशी प्रदेश छिरेको थियो । टोली उदयपुर, ओखलढुंगा र खोटाङ हुँदै भोजपुर आइपुगेको हो ।

चखेवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको विकासका लागि एमालेको एकल सरकार आवश्यक भएको बताए । पार्टीको टेम्केमैयुङ गाउँ कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउने काममा एमालेले नेतृत्व गर्ने दावी गरे ।

ओलीले मिसन ८४ अभियान अन्तर्गत नै मध्यपहाडी संकल्प यात्रा आयोजना गरिएको बताउँदै नेकपा एमालेको सरकारले छोटो समयमा पनि पर्याप्त काम गरेकोले त्यसको प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिए । विरोधीले देशको विकास नसहेर एमालेलाई सरकारबाट हटाएको उनको गुनासो थियो ।

एमालेको टोली आज भोजपुर सदरमुकाम पुगेर बास बस्नेछ ।

बुधबार, २७ मंसिर, २०८०, दिउँसोको ०३:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर