विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले लिएको आन्तरीक परीक्षामा ८० प्रतिशत कटाउने ९१ जना विद्यार्थीहरूलाई छात्रवृत्ती प्रदान गरेको छ ।
विज्ञान संकायमा अध्ययरत कक्षा ११ मा ८० प्रतिशत कटाउने ४४ जना र कक्षा १२ मा ४७ जना गरी ९१ जना विद्यार्थीहरूलाई कलेजले छात्रवृत्ति प्रदान गरेको हो ।
९१ जनामध्ये कक्षा ११ बाट उत्कृष्ट १० भित्र पर्ने १२ जना र कक्षा १२ बाट १० जना गरी २२ जना विद्यार्थीहरुलाई छात्रवृत्तिसहित नगद पुरस्कार प्रदान गरिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । छात्रवृत्ति पाउने विद्यार्थीहरुलाई कलेजले मंगलबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको थियो ।
८० प्रतिशत कटाउने मध्ये पनि कक्षा ११ बाट टपटेन भित्र प्रथम रूसन दाहाल, द्धितीय अमन साह र तृतीय गौरव भट्टराई भए । यसैगरी कक्षा १२ मा टपटेन भित्रको प्रथम प्रशान्त कार्की, द्धितीय गंगाराज अधिकारी र तृतीय कृपा शिवाकोटी भएकी थइन् । टपटेन भित्र प्रथम हुनेले ४२ हजार ७५०, द्धितीयले ४० हजार २५० र तृतीयले ३७ हजार ७५० रूपैयाँ बरावरको छात्रवृत्ति दिएको कलेज प्रिन्सिपल खड्काले जानकारी दिए ।
८० प्रतिशत कटाउने चौथोदेखि टप टेनभित्र पर्ने विद्यार्थीले २७ हजार ७५० रुपैयाँ, ८० प्रतिशत भन्दा बढी अंक ल्याउने विद्यार्थीहरुले जनही २२ हजार ७५० रुपैयाँ बराबरको छात्रवृत्ति पाएको कलेजले जनाएको छ । छात्रवृत्ति पाउने विद्यार्थीहरुलाई कलेजले प्रमाण पत्र दिएको छ ।पुरस्कृत र सम्मानित भएका विद्यार्थीहरुलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, कलेजका चिफ डाइरेक्टर रमेशकुमार मण्डल, निर्देशक भुपेन्द्र दाहाल, नवीनकुमार रोयलगायतले सम्मान गरेका थिए ।
शिक्षादीपमा प्रत्येक वर्ष आठ सय बढी विद्यार्थीहरु विज्ञान संकाय अध्ययनको लागि भर्ना हुने गरेका छन् । संघीय राजधानी बाहिर मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि सबैभन्दा धेरै विद्यार्थीले प्रवेश परीक्षामा नाम निकाल्ने कलेजको रुपमा पनि शिक्षादीप कहलिएको छ । यस कलेजमा अध्ययरत विद्यार्थीहरुले प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीको संख्या पनि बढ्दो क्रममा रहेको छ ।

