आक्रामक पहिचानवादी

घुर्मिमा एमालेको चिहान खन्दैछौं : गोपाल किराँती

विराटनगर । प्रदेश १ पुनः नामकरण संघर्ष समितिका एक जना नेताले उदयपुरको घुर्मिमा एमालेको चिहान खन्दैगरेको बताएका छन् ।

एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै नेता गोपाल किराँतीले आफूहरुले घुर्मि र हर्कपुरमा चिहान खन्दै गरेको र को को पुरिने हो भन्ने प्रश्न गरेका हुन् । खोटाङको सदरमुकाम दिक्तेलमा शुक्रबार पत्रकार सम्मेलन गर्दै किराँतीले भने, ‘संघर्ष समितिको एक सदस्यको हैसियतबाट मैले प्रष्टसँग के भन्न चाहन्छु भने । खड्ग ओलीको चिहान खन्दैछौं हामी । त्यहाँ गाड्नु पर्ने हो या नपर्ने हो ? हामी शान्तिपूर्ण गर्छौं । शान्तिपूर्ण भनेर चिहानको कुरा भन्नुहोला । तर, शान्तिपूर्ण आन्दोलनमा हाम्रा साथीहरुको चिहान खने । हामी छोड्नेवाला छैनौं र छोड्दैनौं । हामी तयारी गरिरहेका छौं,’ किराँतीले भने, ‘एमालेका साथीहरुको प्रश्न छ । एमालेलाई मात्रै किन ? एमाले नै जोरी खोजेर आउने अनि के गर्नु त ?।’

किराँतीले कोशी नामको पक्षमा हस्ताक्षर गर्ने ८२ जना सांसदलाई निर्णय सच्याउने दबाब दिनका लागि निषेध गरिएको बताए । ‘जसले हस्ताक्षर गरे । उनीहरुलाई दबाब गरिरहेका हौं । उहाँहरुलाई दबाब दिनका लागि हाम्रो कुरा सुनाउनका लागि कार्यक्रम गरिएको हो,’ उनले भने, ‘८२ सांसद जबर्जस्ती आए कालोमोसो दल्ने वा कालो झण्डा देखाउने काम हुन्छ ।’

एमाले अध्यक्ष ओली, सचिव योगेश भट्टराई र नेता महेश बस्नेतलाई रोक्नुको कारण चाहिं के हो नि भन्ने प्रश्नमा किराँतीले भने, ‘ओलीजीले हामीलाई आतङ्ककारी भन्नुभयो, अपराधी भन्नुभयो । योगेशजीले पहिचानवादीलाई लल्कार्नु भयो । महेश बस्नेतले तेरो बाउको बिर्ता हो भनेर धम्क्याए । त्यसकारण उनीहरुलाई हामी निषेध गर्ने, भण्डाफोर गर्ने र प्रतिरोध गर्ने हो ।’

किराँतीले पहिचानवादीलाई नै लक्षित गरेर एमालेले अभियान चलाएको दाबी गरे । ‘हामीलाई कुच्चनकै लागि यो अभियान चलाइएको हो । एमाले अध्यक्ष ओलीले दार्चुलादेखि हामीलाई गाली गर्दै आउनु भएको छ । अभियान चलाएको हो भने उहीदेखि पहिचानवादी विरुद्ध किन बोल्दै आउनु पर्यो ?,’ किराँतीले प्रश्न गरे ।

उनले आदिवासी तथा प्रगतिशिलहरुले कि मासिनु पर्यो कि लड्नु पर्यो भन्दै आक्रामक अभिव्यक्ति दिएका हुन् । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कोशी प्रदेश पहिचानवादीको बिर्ता नभएको भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए ।

नेकपा एमालेले मंसिर १४ गते (बुधबार)देखि सुरु गरेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्ने पहिचानवादीको तयारी छ । यसअघि किराँतीले एमालेले जबर्जस्ती गरे आफूहरुको लाशमाथि टेकेर हिंड्नुपर्ने चेतावनी दिएका थिए । प्रदेश १ पुनः नामकरण संघर्ष समितिले पनि मंसिर २६ गतेदेखि उदयपुरको घुर्मिदेखि पाँचथरको चिवाभन्ज्याङ्सम्म अनिश्चितकालिन बन्द आव्हान गरेको छ । मंसिर २६ गते नै उदयपुरको घुर्मिमा एमालेले संचालन गरेको अभियान पनि आइपुग्ने कार्यक्रम छ ।

दुवै पक्ष एक अर्काप्रति लक्षित गर्दै अभियान चलाएपछि झडप हुने आशङ्कामा प्रहरीले भने एकीकृत सुरक्षा योजना लागू गर्ने जनाएको छ । ‘एकीकृत सुरक्षा योजना अनुसार हामीले त्यहाँ सुरक्षा व्यवस्था लागू हुन्छ । नेपाल प्रहरी तैनाथ छ । जसको कार्यक्रममा पनि हामी सुरक्षा दिन्छौं,’ प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बाँस्तोलाले भने ।

यता, एमालेले भने आफूहरुको संकल्प यात्रालाई अवरोध नगर्न पहिचानवादीलाई आग्रह गरेको छ । विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर्दै एमालेले यस्तो आग्रह गरेको हो ।

शनिबार, २३ मंसिर, २०८०, साँझको ०६:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर