विराटनगर । जिल्ला कारागार मोरङमा पुर्पक्षको लागि थुनामा रहेका एक जना बन्दीको रहस्यमय मृत्यु भएको छ । उनको मृत्युपछि आफन्तले सत्यतथ्य छानविनको माग गरेका छन् ।
पुर्पक्षको लागि थुनामा रहेका मोरङको लेटाङ–४ घर भएका ४० वर्षीय केशर बहादुर भुजेलको बिहीबार बेलुका झण्डै साढे ५ बजेतिर उपचारको क्रममा कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको थियो । भूजेलको मृत्युको घटनालाई उनका परिवारले रहस्यमय मृत्यु भएको भन्दै छानविन समिति गठन गरि सत्यतथ्य सार्वजनिक गर्न माग राखेका छन् । भुजेलको शव पोस्टमार्टम हुन अझै सकेको छैन ।
भुजेलको मृत्यु हुनुभन्दा एक घण्टा अगाडि ४ बजे मृतकका भान्जी एलिना भूजेललाई खबर गएको थियो । ‘मामालाई भेट्न मंसिर १६ गते कारागारमा आएको थिएँ । त्यसदिन मामाको जन्मदिन पनि थियो । त्यसैले म कारागार आएको थिएँ । त्यसबेला मामा राम्रोसँग बोल्नुभएको थियो । घरबाट बनाएर ल्याएको मासु खानुभयो । घरायसी विषयमा पनि कुराकानी भयो । त्यसयता पनि फोनमा कुराकानी भइरहेको थियो । एक्कासी बिहीबार मामा बितेको खबर आउँदा मलाई पत्याउन पनि मुस्किल भयो,’ उनले भनिन्, ‘मामा विरामी भएर हस्पिटल ल्याएको खबर भएन । एक्कासी मृत्यु भएको खबर मात्र आयो ।’
मृतकका परिवारले शव गृहमा राखिएको शव पनि हेर्न नदिएकोले भुजेलको मृत्यु शंकास्पद गएको गुनासो गरेका छन् । ‘श्रीमानको मृत्यु भएको खबर सुनेपछि हस्पिटल आएका थियौं । हस्पिटलमा पोस्माटर्मको लागि शव राखिएको रहेछ । हामीलाई शव हेर्न पनि दिइन । कतै श्रीमानलाई कारागारभित्र कुटपिटको कारणले पो मृत्यु भएको हो कि हाम्रो शङ्का छ,’ भुजेलकी श्रीमती रामकुमारी भुजेलले भनिन्, ‘शव हेर्न पनि नदिनु ? ढिलो गरि परिवारलाई खबर दिनु, केही दिन अगाडि मज्जासँग कुराकानी भएको श्रीमान्को एक्कासी कसरी मृत्यु भयो ? घटना रहस्यमय छ । घटनाको छानविन गरिनुपर्दछ,’ उनले भनिन्, ‘न्यायीक छानविन समिति गठन गरेर घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्दछ ।’ जिल्ला प्रशासन कार्यालय मोरङले छानविन समिति गठन गरेपछि मात्र पोस्टमार्टम गर्नुपर्ने मृतक परिवारको माग छ । ‘अहिलेसम्म शव बुझेका छैनौं । हेर्न पनि दिएका छैनन् । कि त बेडमा हुनुपथ्र्यो, कि त बेडभन्दा तल हुुनुपथ्र्यो । किन मुर्दा घाटमा लगियो भनेर हामी भोली निवेदन दिने भन्ने सल्लाह गरेका छौं,’ भान्जी एलिनाले भनिन् ।
कारागार प्रशासनले भने पेट दुख्ने र बान्ता हुन थालेपछि भुजेललाई बिहीबार दिउँसो १२ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पु¥याएको थियो । कोशीको आइसियू खाली नभएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान कारागार प्रशासनलाई हस्पिटलले भनेको थियो । तर, आफन्तलाई उक्त कुराको जानकारी पनि दिइएन । त्यही कारण उनको कोशी अस्पतालमै मृत्यु भयो । उनका आफन्तका अनुसार मृत्यु हुनभन्दा अगाडि भुजेल बेलाबेलामा पिसाव लाग्यो भन्दै शौचालय जाने गरेका थिए ।
मोरङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदी बन्दी रहेका छन् । कारागार भित्र नाइकेको निर्देशनमा भाइ नाइकेहरुले कुटपिट गर्ने गरेको गुनासो बेलाबेलामा आउने गरेको छ । यस्तै कैद भुक्तान गरि निस्किएकाहरुले दिएको जानकारी अनुसार मोरङ कारागरामा १० दिन (१, ११ र २१ गते) भित्र कारागार भित्रको खानपिन गरेको हिसाब (बन्डा) नमिलाए कैदीबन्दीहरुलाई चौकीदार र उनका निर्देशनमा नाइके, भाइ नाइकेहरुले यातना दिने गर्छन् । यातना दिएको कारणले कतिपयको उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु हुने गरेका घटनाहरु पनि छन् । आफन्तले भने पटपटक पिसाव लाग्यो भन्नु र पेट दुख्या भन्दै शौचालय जानुमा भुजेलको अण्डकोषमा कुटपिट भएको लक्षण भएको दाबी गरेका छन् । भुजेलले घरबाट बेलाबेलामा पैसा माग्ने गरेको पनि आफन्त बताउँछन् । उक्त पैसा कारागारमा बण्डा बुझाउने गरेको हुनसक्ने उनीहरुको भनाइ छ ।
मगर गत कार्तिक ६ गते जबरजस्ती करणीमा पक्राउ परेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग दायर गरेपछि मोरङ अदालतले मगरलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो । अदालतको आदेशपछि मगर कार्तिक अन्तिम सातादेखि मोरङ कारागारमा थिए ।
मोरङ कारागारका जेलर कृष्ण हरी न्यौपानेले मगरको उपचारको क्रममा मृत्यु भएको बताए । ‘साह्रै पेट दुख्ने र बान्ता गरेपछि हामीले तत्काल हस्पिटल लिएर गएका थियौं । उपचारको क्रममा मगरको मृत्यु भएको हो,’ उनले भने, ‘एक पटक मृतकका भान्जीलाई शव देखाएको पनि हो । परिवारका सदस्य आए प्रहरीको रोहबरमा देखाउन सकिन्छ । त्यसको लागि मोरङ प्रहरीसँग समन्य गरिनेछ ।’ कारागारबाट कुनै पनि लापरवाही नभएको उनको भनाइ छ । मोरङ कारागारमा शुक्रबारसम्म ९४७ पुरुष र ९५ महिला गरि १ हजार ४२ जना कैदीबन्दी रहेका छन् ।

