विराटनगर । सुनसरीको इटहरीकी जानुका पौडेलले छोराको निधनपछि एकल भएकी बुहारीको धुमधामसँग बिबाह गरिदिएकी छन् ।

इटहरी उपमनगरपालिका २ की पौडेलले ३४ वर्षीया बुहारी सूजा पौडेलको वैदिक परम्पराअनुसार बिहीबार कन्यादान गरी बिबाह गरिदिएकी हुन् ।

बुहारी सूजालाई घरबाटै जेठाजु पुण्य पौडेल र सासु जानुकाले कन्यदान दिए । २०६९ सालमा फडिन्द्र पौडेलसँग झापाको बैगुन्धुराकी सूजाको विवाह भएको थियो । ‘कान्छी बुहारीको रुपमा भित्र्याएकी उनलाई आज छोरीको रुपमा विवाह दान गरेर विदाइ गरें’ जानुकाले भनिन् । सुजासँग मागी विवाह गरेका फडिन्द्रको विवाहको २ वर्षपछि २०७१ सालमै निधन भएको थियो ।

सुनसरी डुम्राहाका रमेश रेग्मीले विवाह गर्न परिवारमै प्रस्ताव गरेपछि आफूहरुले राजीखुसी विवाह गराइदिएको जेठाजु पुण्यले बताए । ‘बुहारीको माइती पक्षसँग पनि यस विषयमा छलफल भयो’ उनले भने, ‘पारिवारिक सहमतिमै विवाह गर्ने निर्णयमा पुगेका हौं ।’ भनेजस्तो परिवार र उस्तै विगत भएका जोडीले राम्रो गरिखान सक्छन् भन्ने अपेक्षासहित बुहारीको विवाह गरिदिएको उनको भनाइ छ ।

रेग्मीको पनि पहिलो श्रीमतीको २ वर्ष पहिले निधन भएको थियो । उनीतिरका एक छोरा र छोरी छन् । पौडेलकी पनि एक छोरी छिन् । रेग्मी सरकारी कर्मचारी हुन् । सूजा एनआइसी एसिया लघुवित्त बैंकमा कार्यरत छिन् ।

सूजाका बुवा कृष्ण खतिवडाले छोरी कर्मघरबाट बेहुली भई बिदा हुन पाउनु समाजका लागि पनि उदाहारण भएको बताए । कर्मघरबाट छोरीको रुपमा बेहुली बनेर बिदाइ हुन पाउँदा गौरब लागेको सूजाको भनाइ छ । जीवनमा आईपरेका समस्या र त्यसको समाधानबारे धेरै सिकाइ भएको बताउँदै उनले भनिन्, ‘पौडेल परिवारबाट मैले छोरीकै माया पाएँ ।

अहिले यही घरबाट बुहारी भएर जान पाउँदा यो समाजका लागि पनि उदाहरण हो जस्तो लाग्छ ।’ अब दुबैतिरका छोराछोरीलाई साथै राखेर आफूहरुले नयाँ जीवन शुरुवात गर्ने उनले बताइन् ।