काठमाडौं । सरकारले एनसेलको ८० प्रतिशत शेयर खरिद–बिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।
सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माका अनुसार समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, हृदयेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन् । ‘एनसेलको शेयर खरिदबिक्रीका सन्दर्भमा जुन प्रश्न उठेको छ, त्यो प्रश्नका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न उच्चस्तरिय समिति निर्माण गर्ने भनी मन्त्रिपरिषदले निर्णय गरेको छ’ उनले जानकारी दिइन् ।
समितिलाई एक महिनाको समय तोकिएको छ । समितिका सदस्य गौतम कानून समूहका सचिव हुन् । उनी हाल सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवको जिम्मेवारीमा छन् । भण्डारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव हुन् भने शाक्य आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक हुन् । चार्टर्ड एकाउन्टेण्डहरुको नियमनकारी निकाय आईक्यानका अध्यक्ष काफ्लेलाई पनि सरकारले समितिको सदस्य बनाएको छ ।
टेलिकम कम्पनी एन्सेलको २० प्रतिशत शेयर नेपाल कम्पनी सुनिभेरा क्यापिटलको स्वामित्वमा छ । उसको ८० प्रतिशत हिस्सा सेन्ट किट्समा दर्ता भएको कम्पनी रेनोल्ड होल्डिङ्सको नाममा रहेकामा मलेसियाको आजिआटा कम्पनीले रेनोल्ड होल्डिङ्सको सबै शेयर बेलायतमा हालै दर्ता भएको स्पेक्ट्रलाइट नामक कम्पनीलाई बेच्ने निर्णय गरेको बाहिरिएको छ ।
नेपाल सरकारलाई कुनै जानकारीविना शेयर बिक्री गरेको र कर छल्न खोजेको हुनसक्ने आशंकामा प्रश्न उठेपछि सरकारले छानविन समिति गठन गरेको हो । बुधबार मात्रै सार्वजनिक लेखा समितिले एनसेलमा लगानी गरेको कम्पनीको शेयर खरिदबिक्री रोक्न नियमनकारी निकायहरुलाई निर्देशन दिएको थियो ।