विराटनगर । विराटनगर– ७ सातघुम्तीस्थित एक कवाडी गोदाममा बुधबार दिउँसो भएको आगलागीमा परेर दुई जनाको मृत्यु भएको छ भने चार जना घाइेते भएका छन् ।

विराटनगर ६ का दुखा मण्डलले सञ्चालन गरेको कवडी गोदाममा भएको आगलागीमा एक जनाको उपचारका क्रममा र एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

आगलागीमा परेर विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डल र अर्का एक जना महिलाकोे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । मण्डललाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

एक जनाको जलेर मृत्यु भएको अवस्थामा घटनास्थलमै शव फेला परेको हो । शवको पहिचान भएको छैन । मृतक महिला रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिएपछि उनको शव भेटिएको थियो ।
कवाडी गोदाममा केमिकलमा हाल्ने परफ्युम (सेन्ट) भर्ने क्रममा चुरोट सक्लाउँदा आगजानी भएको पाइएको प्रहरीले जनएको छ । ‘केमिकल एकदमै प्रज्जवलनशील पदार्थ हो । काम गर्ने क्रममा केमिलको बट्टा फुटाउँदै थिएँ, एक जनाले चुरोट सल्काइदिएको आगो सल्कियो’ घाइते भएका किशोर पासवानले प्रहरीलाई दिएको जानकारी उदृत गर्दै डिएसपी दाहालले भने, ‘आगो लागेपछि कतिय भाग्न सफल भए भने कतिपय तत्काल बाहिर निस्कन नपाउँदा घाइते भए ।’

सामान्य घाइते भएका किशोर पासवानले आगलागी भएपछि आफू बाहिर निस्किएको भएपनि श्रीमती शुशिला भित्रै रहेकोले उनलाई लिन जाँदा घाइते भएको बताएका छन् । उनकी श्रीमति पनि आगलागीमा घाइते भएकी छन् । कवाडी पसलमा बुधबार दिउँसो २ः१५ बजेतिर आगलागी सुरु भएको हो । आगलागी प्रहरी, सुनसरी र मोरङका आधार दर्जन बारुणयन्त्र र स्थानीयको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।

आगलागीमा परेकामध्ये ५ जनालाई उद्धार गरेर उपचारका लागि लगिएको थियो । अन्य घाइतेमध्ये विराटनगर–६ की अन्दाजी ६० वर्षीया रीता सरदार, विराटनगर–६ की अन्दाजी ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की अन्दाजी ३० वर्षीया पिंकी कामतको न्युरोमा र विराटनगर–६ का अन्दाजी ५८ वर्षीय किशोरको कोशी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । न्युरोमै उपचारको क्रममा विराटनगर ६ का दिपक मण्डको मृत्यु भएको थियो । उनी कवाडी सञ्चालक दुखा मण्डलका छोरा हुन् ।

घाइतेमध्ये सुशिला र रिताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको ७० प्रतिशत भन्दा बढी जलन भएको छ । घाइतेको अवस्था गम्भीर रहेको अस्पतालल बताएपछि हरुलाई काठमाडौं लैजान जिल्ला सुरक्षा समितिको बैठकले हेलिकप्टर पठाउन गृह मन्त्रालयलाई अनुरोध गरेको थियो । गृहले नेपाली सेनाको स्काई ट्रक पठाएपछि उनीहरुलाई काठमाडौंको किर्तिपुरस्थित बर्न अस्पताल लगिएको हो ।