विराटनगर । विराटनगर महानगरपालिकाभित्रको लोदोसहितको फोहर सडकमा छरपस्ट तरिकाले फालेको एक साता बितिसक्दा पनि नउठाउँदा दुर्गन्ध फैलिएर स्थानीय हैरानी भएका छन् भने सडक दुर्घटना बढेको छ ।
विराटनगर–९ भानुटोलको भित्री सडकको नालाको लोदोसहितको फोहोर झिकेर सडक किनारमा राखेको एक साता भएको छ । उक्त फोहर एक हप्ता बितिसक्दा पनि उठाइएको छैन जसले सडकमा दुर्घटना बढाइरहेको स्थानीय पत्रकार पुष्पराज थपलियाले बताए । ‘नालाबाट झिकेको लेदोसहितको फोहर सडक किनारमा छरपस्ट छोड्दा दुर्गन्ध फैलिएको छ भने मोटरसाइकल र स्कुटरहरु दिनहुँजसो दुर्घटना हुने गरेको छ ।,’ उनले भने, ‘नालाबाट झिकेको फोहोर लेदो एक हप्ता भइसक्यो । अहिलेसम्म उठाउने कुनै सुरसार गरेको छैन ।’ फोहोर उठाउने ठेकेदारले समयमै नउठाउँदा अहिले दर्गन्ध फैलिएको उनले बताए । महानगरपालिकाले पनि ठेकेदारलाई जिम्मेवार बनाउन भूमिका नखेलेको उनको आरोप छ ।
१९ वडा रहेको विराटनगर महानगरपालिकामा तीन क्षेत्र विभाजन गरी फोहर संकलन र व्यवस्थापन गर्ने गरिएको छ । महानगरले सोही अनुसार ठेक्का सम्झौता गरी नाला सफाइ गर्ने जिम्मेवारी पनि ठेक्का लिने कम्पनीलाई नै दिएको छ ।उत्तरी क्षेत्र विराटनगर १ देखि ५ र १९ नम्बर वडा भित्रको फोहोर उठाउने ठेक्का नेपाल फुलबारी संस्थाले लिएको छ । यसैगरी ६ देखि ११ नम्बर वडासम्मको ठेक्का शान्तिको लागि वातवरण नामका संस्थाले लिएको छ भने दक्षिण क्षेत्र ११ देखि १८ नम्बर वडासम्मको ठेक्का सगरमाथा मल्टिपल सभिर्स प्रालिले लिएको छ ।
फोहोर उठाएबापतको उनीहरुले महानगरपालिकाबाट मासिक रकम र ग्राहक बनाएर पनि शुल्क उठाउने गरेको छ । फुलबारीले मासिक ९० हजार, स्वास्थ्य र शान्तिको लागि वातवरणले एक रुपैयाँ र सगरमाथा मल्टिपल सभिर्सले मासिक तीन लाख रुपैयाँ विराटनगरमहानगरपालिकाबाट लिने गरेका छन् । यस बाहेक उनीहरुले महानगरलाई फोहोर दिने ग्राहकहरुबाट नियमित शुल्क संकलन गर्दछन् । तर, ती ठेकेदार कम्पनीहरु महानगरसँग गरेको सर्तबमोजिम नचलेको र महानगरले पनि उनीहरुलाई जिम्मेवार नबनाउँदा नगरका विभिन्न भागमा फोहरको समस्या बढ्न थालेको स्थानीयले बताए । विराटनगर ९ भानुटोल क्षेत्रमा एक सातादेखि फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भएको स्थानीयले बताएका छन् ।
यता विराटनगर महानगरपालिकाको अनुगमनकर्ता किरण न्यौपानेले ठेकेदार कम्पनीलाई तत्काल फोहर उठाउन लगाउने बताए । उनले भने ‘मलाई पनि त्यहाँ फोहोर त्यसै छोडेको बारेमा जानकारी भएन, तत्काल ठेकेदार कम्पनीलाई फोहर संकलन गर्न निर्देशन गर्छ ।’

