सम्पादकीय
कोशी प्रदेशको झापा, मोरङ र सुनसरीको चुरे फेदीमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । गएको दुई साताभित्रै हात्तीको आक्रमणबाट चार जनाले ज्यान गुमाएका छन् । हात्तीको आक्रमणबाट झापा दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको मंसिर ५ गते, सुनसरीको इटहरीका रविन खड्काको मंसिर १३ गते मृत्यु भयो । मंसिर १५ गते फेरि झापाको हल्दिबारी–३ स्थित सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर वनको र मंसिर १८ गते मोरङको लेटाङका ५३ वर्षीय कमल माझीको निधन भएको छ । अहिले झापा, मोरङ र सुनसरीमा जंगलमा भारतबाट हुलका हुल हात्ती पसेर आतंक मच्चाइरहेका छन् । लस्करै हिंड्ने हात्तीको बथानले विभिन्न ठाउँमा आतङ्क मच्चाइरहेको छ । घर भत्काइ रहेको छ भने बालीनाली सखाप पारेको छ ।
भारतहुँदै झापाको बाहुनडाँगीबाट प्रवेश गरेर शान्तिनगर, बुधबार हम्सेदुम्से, हुँदै मोरङको उर्लाबारी, लेटाङ, मिक्लाजुङ, बेलबारी, कानेपोखरी, केराबारी, पथरी क्षेत्रका जङ्गल क्षेत्रमा हात्तीहरु घुमिरहेका छन् । प्रत्येक वर्ष हात्ती आएर मानवीय र भौतिक क्षति गर्ने गरेको छ । साउनदेखि अहिलेसम्म जंगली हात्तीले मोरङको मिक्लाजुङमा मात्रै ११ जनाको घर भत्काएर पाँच सय बिघा भन्दा बढी क्षेत्रफलको धानवाली नष्ट गरेको छ । पालिकाले तीन महिनामा स्थानीयलाई ८ लाख बराबरको क्षतिपूर्ति तिरिसकेको छ । हात्तीबाट मानिसको मृत्यु हुनुमा भने मावनीय कमजोरी नै प्रमुख रहेको विज्ञहरु बताउँछन्
। जानीजानी हात्तीलाई लखेट्न जानु, जिस्काउनु, सेल्फी खिच्न जानु जस्ता कार्यले हात्ती आक्रमणमा उत्रने बताइन्छ । हात्तीले धनमालको क्षति गरेको अवस्थामा राज्यले क्षतिपूर्ति दिने गरेको छ । त्यसैले हात्ती आउँदा उसलाई धपाउन खाली हात जान हुँदैन । अहिले झापा, मोरङ र सुनसरीमा १५० भन्दा बढी हात्ती रहेको अनुमान गरिएको छ । त्यसैले सतर्कताको खाँचो छ ।
जङ्गली जनावरलाई एक ठाउँमा छेकबार गर्ने काम ‘मूर्खतापूर्ण’ हुने वन्यजन्तु क्षेत्रमा काम गर्नेहरू बताउँछन् । जति छेक्न खोज्यो त्यति नै ती जनावर आक्रामक बन्ने उनीहरूको बुझाइ छ । अहिलेसम्म सरकारले हात्ती छेक्न भन्दै जति पैसा खर्च गरे पनि त्यो उपायले काम गरेको देखिन्न । हात्ती छेक्ने कामभन्दा पनि अब हात्ती र मान्छे कसरी सँगै बस्ने भन्ने कुराको चेतना विकास गर्नुपर्ने विज्ञहरु बताउँछन् । तारबार लगाएर हात्ती छेक्ने प्रयास असफल भइसकेको छ । पर्यावरणमा हात्ती पनि बाँच्नुपर्छ भन्ने चेतनाको विकास हुनुपर्छ ।
विज्ञहरुको भनाइमा जङ्गली हात्तीले विशेषगरी असार–साउन र मङ्सिर–पुस महिनाका बेला धेरै दुःख दिन्छ । असार र साउनमा मकै पाक्ने र मङ्सिर र पुस महिनामा धान, उखुजस्ता बाली पाक्ने भएकाले यी महिनामा हात्तीले उपद्रो मच्चाउने गरेका छन् । यो मौसममा हात्ती बढी सक्रिय हुने र बालीनाली नष्ट गर्ने र आक्रमण गर्ने गरेका विभिन्न घटनाक्रमले देखाएको छ । त्यसैले यो समयमा मानवीय सतर्कताको खाँचो छ ।
हात्ती आतंक बढेपछि वन कार्यालयबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन सुरक्षाको टोली साइरनसहित हात्ती धपाउन परिचालन गर्ने गरिएको छ । तर, त्यतिले मात्र हात्ती आतंक नियन्त्रण हुने अवस्था छैन । वन्यजन्तु र मानवबीचको बढ्दो द्वन्द्व न्यूनीकरण गर्न सबै पक्षले सहकार्य गर्न सकेमात्र हात्ती आतंक नियन्त्रण गर्न सकिन्छ । हात्ती नियन्त्रण, संरक्षण र दीगो व्यवस्थापनका लागि दीर्घकालीन योजना निर्माण गरी सरकारले काम गर्न सक्नुपर्छ । हात्तीको लागि जंगलभित्रै आवश्यक आहारजन्य वनस्पतिको उचित व्यवस्थापनमा अब ध्यान दिनुपर्छ । हात्ती मानब बस्तीमा प्रवेश गर्नुको मुख्य कारण खानेकुराको खोजी हो ।
त्यसैले जंगलमा रहेका मिचाहा प्रजातिका लहराहरू नियन्त्रण गर्दै हात्तीको आहाराजन्य वनस्पती जंगलमै विकास गर्नेगरि काम गर्नुपर्छ । वन्यजन्तु पीडित क्षेत्रका लागि अन्य आय–आर्जन कार्यक्रम र प्रकृति, वन्यजन्तु, वनस्पति एवम् मानवको सहअस्तित्व कायम राख्न जनचेतनामूलक कार्यक्रम पनि प्रभाबकारी रुपमा सञ्चालन गर्नुपर्छ । प्रदेश सरकारले बजेटबाट घोषणा गरेको हात्तीमैत्री जंगल र कोरिडोर निर्माणको काम प्रभाबकारी बन्नुपर्छ ।