हात्तीको आक्रमणमा ज्यान गुमाएका परिवारलाई तत्काल क्षतिपूर्ति दिन मन्त्री उप्रेतीको निर्देशन

विराटनगर । कोशीका प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परिवारको क्षतिपूर्तिमा ढिलाई नगर्न निर्देशन दिएका छन् ।

हात्तीको आक्रमणमा परी सोमबार ज्यान गुुमाएका कमल माझीको परिवारलाई समेवदना प्रकट गर्न मोरङको लेटाङ–३ स्थित किर्तीमान पुगेका मन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

प्रदेशसभाको मङ्गलबार बसेको बैठकको शून्य समयमा सांसदहरुले हात्ती आक्रमणको बिषयमा सरकारको जवाफदेहिता माग गरेपछि मन्त्री उप्रेती बुधबार बिहानै मृत्तक परिवारको घर पुगेका हुन् । पीडित परिवारमा समवेदना व्यक्त गर्दै उनले ५ दिनभित्र क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित सरोकारवालालाई निर्देशन दिए । ‘कानुनमा ३० दिनभित्र भनिएपनि मुचुल्का उठाउने काम २ दिनको हो । बाँकी प्रक्रियामा जाँदा ५ दिनभित्र काम सकिन्छ । ३० दिन कुर्नैपर्ने आवश्यकता छैन,’ उनले भने, ‘जनतालाई सरकारको अनुभुति दिलाउने दायित्व हाम्रै हो । त्यसैले ढिलासुस्ती नगरौं । हामीले के गर्नुपर्छ ? गर्छौं ।’

परिवारसँग भेट्ने क्रममा मन्त्री उप्रेतीले उनीहरुलाई किरिया खर्च बापत ५० हजार रुपैयाँ रकम समेत उपलब्ध गराए । उनले प्रदेश सरकारबाट सिर्जना हुने रोजगारीमा पीडित परिवारका सदस्यलाई प्राथमिकतामा राखिने प्रतिबद्धता पनि व्यक्त गरे । हात्ती तथा अन्य जीवजन्तुको आक्रमणबाट हुने जनधनको क्षति न्यूनीकरणका निम्त्ति प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि वन्यजन्तुमैत्री जङ्गल बनाउने कार्यक्रमलाई समेटेको उनले जानकारी दिए ।

मोरङको बेलबारी–१० स्थित भाउन्नेमा जङ्गली हात्तीको आक्रमणमा परी सोमबार बिहान लेटाङ–३ किर्तिमानका ५३ वर्षीय कमल माझीले ज्यान गुमाएका थिए । लेटाङबाट साईकल चढेर बेलबारीको लक्ष्मीमार्गतर्फ आउँदै गरेको अवस्थामा माझीलाई हात्तीले आक्रमण गरेको थियो । माझीको शव बिहान करिब साढे १० बजे सिर्जना सामुदायिक वन क्षेत्रमा फेला परेको थियो । माझीले आफ्नो साथमा बोकेको घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ मर्चाप्रति आक्रामक भएर हात्तीले उनीमाथि आक्रमण गरेको हुनसक्ने अनुमान प्रहरी गरेको छ ।

हात्तीको आक्रमणमा परी ज्यान गुमाएका माझीको परिवारमा उनकी श्रीमतीसहित २ छोरा, बुहारी र २ जना नातिनी छन् । घरका ठुला छोरा वैदेशिक रोजगारीको सिलशिलामा मलेसियामा छन् । घटना भएको अढाई महिनाअघि मात्रै मृत्तकको बुवाको पनि निधन भएको थियो । हात्तीको आक्रमणमा परी घरको अर्को अभिभावकको पनि असामयिक निधन भएपछि अहिले समग्र किर्तिमान गाउँ नै शोक शन्तप्त बनेको छ । दाजु गुमाएपछि विजयकुमार माझीलाई हात्ती सम्झिन मन भएन् । यद्यपि, उनले अढाई महिनाकै अन्तरालमा एकै परिवारका दुईजनाले ज्यान गुमाएपछि ठुलो बज्रपात आईपरेको अनुभव सुनाए । घटनापछि परिवारसहित समग्र किर्तिमान गाउँ नै त्रसित बनेको उनले बताए । ‘हामीलाई त रात गुजारा गर्नै गाह्रो छ । कताबाट आएर आक्रमण गर्छ भन्ने त्रासमा बसिरहेका छौं,’ उनले भने, ‘कतिपय अभिभावकले त बालबालिकालाई स्कुल पठाउन समेत बन्द गरेका छन् ।’

हात्तीको आक्रमणमा परी यसअघि पनि सुनसरीको इटहरी, झापाको हल्दिबारी र बेलडाँगीमा १÷१ जनाले ज्यान गुमाएका थिए । कोशी प्रदेशमा पछिल्लो २ सातायता हात्तीको आक्रमणमा परी ४ जनाको मृत्यु भईसकेको छ । आहारको खोजीमा हात्ती गाउँ पस्दा आक्रमणको घटनाहरु हुने गरेको डिभिजन वन कार्यालय मोरङले जनाएको छ । कार्यालयका अनुसार यसको रोकथाम तथा नियन्त्रणका सामुदायिक तथा साझेदारी वन समुहसँगको सहकार्यमा जनचेतना फैलाउने काम भईरहेको छ । यसका अतिरिक्त आहारको खोजीमा हात्तीलाई गाउँ पस्न नदिन वनक्षेत्रमै जङ्गली फलफुुलको बोटविरुवा लगाउने कार्यलाई पनि कार्यालयले अभियानकै रुपमा अघि बढाएको छ । ‘वृक्षरोपणको क्रममा न्युनतम २० प्रतिशत बिरुवा जङ्गली फलफुलको लगाउने कार्यलाई अघि बढाईएको छ । यसले हात्ती जङ्गलमै सिमित हुने र गाउँ पस्ने क्रम घट्दै जाने अनुमान हामीले गरेका छौं,’ कार्यालय प्रमुख बिष्णुलाल घिमिरेले भने, ‘वनक्षेत्र अतिक्रमणका कारण पनि जङ्गली हात्ती गाउँघर पस्ने गरेका छन् ।’

डिभिजन वन कार्यालयका अनुसार हाल ३७ वटा हात्तीहरु झापाको बाहुनडाँगीबाट मोरङ हुँदै सुनसरीसम्म पुगेका छन् । हात्ती देख्दा जिस्क्याउने, ढुङ्गा हान्ने र फोटो तथा सेल्फी खिच्ने लगायतका कारणले पनि आक्रामण हँुदा यी यस्ता घटना हुने गरेको जनाईएको छ । कोशी प्रदेशको सुनसरी, मोरङ, झापा, इलाम र उदयपुर गरी कुल ५ जिल्लामा हात्तीको आतङ्क कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रदेशमा गत साउन महिना कुल ४२ वटा हात्ती आक्रमणका घटनाहरु भएका छन् । जसमा परी हालसम्म ४ जनाले ज्यान गुमाएका छन् भने ७ जना गम्भीर घाईते भएका छन् । हात्तीको आक्रमणबाट अहिलेसम्म भने २७ लाख ९० हजार मुल्य बराबरको घर÷टहरा लगायतमा क्षति पुगेको प्रहरीको तथ्याङ्क छ ।

बुधबार, २० मंसिर, २०८०, साँझको ०६:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर