कोशीको सभामुख निर्वाचन पुसमा

विराटनगर ।कोशी प्रदेशसभाको सभामुखको निर्वाचन पुसमा गर्ने सहमति भएको छ । सभामुख पदको चुनावी प्रक्रिया पुस पहिलो सातादेखि सुरु गर्ने सहमति प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच भएको हो ।

प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकमा सभामुखको निर्वाचनबारे छलफल भएको थियो । छलफलमा पुस पहिलो साताभित्रमा चुनावी प्रक्रिया थाल्ने सहमति भएको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन् ।

दलहरूसँग छलफल गरेर चाडै प्रक्रिया थाल्न उपसभामुख सिर्जना दनुवारलाई बैठकमा सहभागी सांसदहरुले आग्रह गरेका थिए । ‘बैठकमा मैले नै रिक्त रहेको सभामुखको पदमा अब के गर्ने भनेर चासो दिएर कुरा उठाएको थिए,’ उनले भनिन् ‘बैठकमा सहभागी दलका प्रतिनिधि तथा नेताहरूले संसदीय दलका नेताहरूसँग छलफल गरेर अगाडि बढ्न मलाई सुझाब दिनुभएकोले अब त्यहि अनुसार प्रक्रिया अगाडि बढ्नेछ ।’ सबै दलका नेताहरू काठमाडौँमा रहेकोले उहाँहरू आएपछि छलफल गरेर अगाडि बढ्ने उनले जानकारी दिएकी छन् ।

कोशी प्रदेशसभा गएको साउन १६ देखि सभामुखविहीन छ । सभामुख नहुँदा उपसभामुख दनुवारले सभा चलाइरहेकी छन् । २०७९ पुस २८ गते सभामुखमा निर्विरोध निर्वाचित भएका बाबुराम गौतमले नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीका लागि बहुमत पुर्याइदिन राजीनामा दिएका थिए । गौतमले राजीनामा दिएको ४ महिनापछि प्रदेशसभामा सभामुख चयनको विषयमा औपचारिक छलफल सुरु भएको हो ।

प्रदेशसभाको बैठकमा भने सांसदहरुले सभामुख चयनको प्रक्रिया अगाडि बढाउन माग गर्दै आएका छन् । मंगलबारको प्रदेशसभा बैठकमा पनि नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले सभामुख चयनमा ढिलाइ गर्नु गलत भएको भन्दै तत्काल चयनको प्रक्रिया थाल्न माग गरेका थिए ।

प्रदेशसभामा बहुमत सुरक्षित राख्न सत्ता गठबन्धनले सभामुख पद राप्रपालाई दिन चाहेको छ । त्यसबारे केन्द्रमा नै करिब सहमति भइसकेको नेताहरुले बताएका छन् । राप्रपाले सभामुख पाएमा लिने मनसाय व्यक्त गरेको छ । यद्यपी त्यसबारे औपचारिक सहमति भइसकेको छैन ।
केन्द्रीय सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्नुअघि सभामुख पदको विषयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग गठबन्धनका शीर्ष नेताहरूले छलफल गरेको स्रोतले बताएको थियो । छलफलमा प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच कोशी प्रदेशको सभामुख राप्रपालाई दिने विषयमा सहमति भएको चर्चा रहेको छ ।

सभामुख प्रतिपक्षीलाई दिनेगरी सत्ता गठबन्धनभित्र छलफल भइरहेको नेपाली काँग्रेसका सांसद भूपेन्द्र राईले बताए । ‘सत्ता गठबन्धनसँग राख्नुपर्छ भनेर हामीले भनेका छैनौ’ उनले भने, ‘प्रमुख प्रतिपक्षी र प्रतिपक्षीसँग पनि थप छलफल गर्छाै र निष्कर्षमा पुग्छौं ।’

संविधानको धारा १८२ मा प्रदेशसभाको सभामुख र उप–सभामुखको चयन प्रक्रिया उल्लेख छ । उक्त धाराको उपधारा (३) मा सभामुख वा उप–सभामुखको पद रिक्त भएमा प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचन गरी पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । प्रदेशसभामा सभामुख पद रिक्त रहँदा एमालेबाट उप–सभामुख निर्वाचित सिर्जना दनुवारले सभामुखको पनि भूमिका निर्वाह गरिरहेकी छन् ।

संविधानमा भएको व्यवस्था अनुरूप कोशी प्रदेशमा अहिले एमालेले सभामुख लिन पाउँदैन । तर, एमाले उप–सभामुखलाई राजीनामा गराएर भएपनि सभामुख लिने प्रयासमा छ । सभामुख एमालेले पाउँदा उपसभामुख राप्रपालाई दिने एमालेको प्रस्ताव छ । संसदमा ठूलो दल भएको हैसियतले सभामुखमा आफ्नो पहिलो दाबी रहेको एमालेका प्रमुख सचेतक रेवतिरवण भण्डारीले बताए ।

‘सभामुखमा हाम्रो दाबी हुनु स्वभाविक हो’ उनले भने, ‘प्रतिपक्षीलाई पनि बाहिर राख्न पाइदैन, त्यसैले प्रमुख प्रतिपक्षी र प्रतिपक्षीलाई मिलाएर लैजानुपर्छ ।’ उपसभामुख दनुवारले भने आफूले सभामुखमा दाबी नगर्ने बताएकी छन् । ‘मैले पहिला दाबी गरेकी थिएँ’ उनले भनिन् ‘तर, अहिले परिस्थिति फेरिएका कारण मेरो दाबी छैन । नहुने कुरामा दाबी गरेर जिद्दी गर्ने कुरा पनि भएन ।’

बुधबार, २० मंसिर, २०८०, दिउँसोको ०२:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर