विराटनगर । कोशी प्रदेश सभाको मंगलबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले ‘कोशी प्रदेश समायिक राजस्व संकलनसम्बन्धी विधेयक, २०८०’ पेश गरेका छन् ।

यस्तै बैठकले विषयगत समितिका कार्यविधि आफैँ बनाउने सम्बन्धी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन) को नियम १९८ बमोजिम सभामुखबाट जारी भएको बाधा अडकाउ फुकाउने आदेश सम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित ग¥यो । उक्त आदेशको प्रस्तावक नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारी र खगेस्वरी पौडेल समर्थक थिए ।

यसैगरी बैठकको शून्य समयमा प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालले प्रदेशमा चार महिनापछि पारित भएको बजेटलाई समयमै सम्बन्धित निकायमा पुर्याउन माग गरे भने प्रदेश सभा सदस्य गोम्बु शेर्पाले सभामुखबिहीन प्रदेश सभा राख्न नहुने भन्दै सभामुख चयन गर्ने प्रक्रिया थाल्न सभाको ध्यानाकर्षण गराए । अर्का सदस्य तिलचन पाठकले एमालेको मध्य पहाडी जागरण यात्राका क्रममा अवरोधको प्रयत्न भइरहेको भन्दै निषेधको राजनीतिक नगर्न आह्वान गरे ।

प्रदेश सभा सदस्य रमेशकुमार बस्नेत, विदुरकुमार लिंथेप, ज्ञानेन्द्र सुवेदीले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका थिए ।

सभामा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र मन्त्रिपरिषद्को कार्यविभाजन सम्बन्धी पत्रबारे जानकारी गराइएको थियो । प्रदेश सभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने छ ।