विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई ओखलढुङ्गा प्रवेशमा अबरोध गर्नखोज्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोशी प्रदेशको नामकरणको पक्षमा मतदान गर्नेहरुलाई जिल्लामा प्रवेश गर्न नदिने भन्दै पहिचानवादी संघर्ष समितिले गरेको घोषणा अनुसार मुख्यमन्त्रीलाई अबरोध गर्न खोज्नेहरु पक्राउ परेका हुन् ।
नेपाली काङ्ग्रेस ओखलढुङ्गाको जिल्ला सम्मेलनमा सहभागी हुन गएका मुख्यमन्त्री कार्कीलाई अवरोध गरेको आरोपमा प्रहरीले किराँत राई यायोक्खाका महासचिव भीम राई, संयुक्त संघर्ष समिति ओखलढुंगाका जिल्ला संयोजक थगेन्द्र राई र यायोक्खा पूर्वजिल्ला अध्यक्ष दीपेन्द्र रुम्दालीलाई पक्राउ गरेको हो । उनीहरुलाई ओखलढुंगाको गोरुमारे भञ्ज्याङबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रदेशको नाम कोशी राख्ने पक्षमा मतदान गर्ने ८२ जना प्रदेशसभा सदस्यसहित पहिचानको विरुद्ध जथाभावी अभिव्यक्ति दिने नेकपा एमालेका अध्यक्ष केपी ओली, सचिव योगेश भट्टराई र नेता महेश बस्नेतलाई प्रवेश नदिने पहिचानवादीको चेतावनी छ । उनीहरुले एमालेको मध्यपहाडी यात्राको क्रममा पनि ती ८५ जनाभित्र पर्ने व्यक्तिहरु सहभागी नगराउन चेतावनी दिँदै आएका छन् ।