विराटनगर । सशस्त्र प्रहरीको अगुवाइमा कोशी प्रदेशमा पर्ने नेपाल–भारत सीमाक्षेत्रका ४८४ सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगनको कार्य सुरु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले नेपाल–भारत सीमा छुट्टाउने सीमा स्तम्भको मर्मत र रंगरोगनको काम सोमबार झापाको मेचीनगर–७ सतीघट्टाबाट सुरु गरेको हो ।
सशस्त्र प्रहरीका डीआइजी अञ्जनीकुमार पोखरेल, नेपाल प्रहरीका प्रदेश प्रमुख डीआइजी राजेश बाँस्तोला र भारतीय सीमा सुरक्षा बल ४१ बटालियनका नविनकुमार रायले ९१÷१ नम्बर पिलरको रंगरोगन गर्दै मर्मत कार्य सुरु गरेका हुन् । झापा, मोरङ र सुनसरीसम्मका बिजोर नम्बर पिलरहरूको मर्मत र रंगरोगनको कार्य सुरु गरेको डीआइजी पोखरेलले जानकारी दिए ।
जोड नम्बरका सीमा पिलरहरूको मर्मत र रंगरोगन भने भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले यसअघि नै गरिसकेको बताइएको छ । बिजोर पिलरको जिम्मा सिशस्त्र प्रहरीलाई रहेको डिआईजी पोखरेलले बताए । मर्मत सम्भार क्रममा भत्किएका र ढलेका स्तम्भहरुको पुनःस्थापना र सबै स्तम्भको रङगरोगन गरिछ । ५० प्रतिशतभन्दा बढी क्षति पुगेका, हराएका र बगाएका सीमा स्तम्भ भने दुबै देशका संयुक्त नापीसहितको टोली फिल्डमा खटिएर मात्र मर्मतको काम हुनेछ ।

झापामा साना, मझौला र ठुला गरी ३१७ सीमा पिलरको मर्मत र रंगरोगन गरिनेछ । त्यस्तै मोरङमा ३४ र सुनसरीमा १३३ गरी ४८४ सीमा पिलरको मर्मत र रंगरोगन गरिनेछ । त्यसपछि ६० देखि ७० प्रतिशत सीमा पिलरको अपडेट हुनेछ ।
कोशी प्रदेशमा पहिलोपल्ट नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सम्भार सुरु भएको सशस्त्र प्रहरीले बताएको छ । कोशी प्रदेशभर भारतसँगको ४३० किलोमिटर लामो खुला सीमानामा ९५७ वटा सीमा स्तम्भ छन् । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको १ हजार ५०० जनाको टोली परिचालन गरिएको छ ।
नेपाल सरकारले विशेष कार्यविधि पारित गरेर सशस्त्र प्रहरी बललाई सीमा स्तम्भहरुको सुरक्षा र मर्मत सम्भारको जिम्मेवारी दिएको छ । नेपाल–भारत सीमानाको दशगजा क्षेत्र खाली गर्ने कार्य पनि भइरहेको छ । झापामा सीमानाको ५५ स्थानमा स्थानीयद्वारा दशगजा अतिक्रमण भएको सरकारी तथ्याङ्क छ ।
हालसम्ममा झापाको सीमा क्षेत्रमा ३७ स्थानको अतिक्रमण हटाएर दशगजा खाली गरिएको छ भने बाँकी १८ स्थानमा हटाउन स्थानीयबासीलाई म्याद दिइएको छ । दशगजामा सीमा स्तम्भको वारी ३० फिट र पारीतर्फ ३० फिट खाली गर्नुपर्ने दुबै देशबीचको सहमति छ ।

