विराटनगर । कोशी प्रदेश सरकारले १० वर्षमुनीबा बच्चको निःशुल्क उपचार गर्ने घोषणा चालु आर्थिक वर्षको बजेटबाट गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयसमेतको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीले ल्याएको बजेटमा त्यसको लागि ३ करोड रुपैयाँ बजेट पनि बिनियोजन भएको छ ।
सरकारले बालबालिकाको निःशुल्क उपचार गर्ने दावी गरिरहेको बेला प्रदेश सरकार मातहतको सबैभन्दा ठूलो अस्पताल झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा विषेशज्ञ चिकित्सकको अभाबमा बच्चा वार्ड नै बन्द भएको छ । अस्पतालमा साढे ५ महिनादेखि बालरोग विशेषज्ञ चिकित्सक नहुँदा अन्य क्षेत्रका स्वास्थ्यकर्मीले नै विरामी हेर्ने गरेकोमा अहिले वार्ड नै बन्द गरिएको हो ।
विषेशज्ञ चिकित्सक नभएकोले अस्पताल प्रशासनले बच्चा वार्डको सेवा बन्द गरेको छ । वार्डको ढोकामा ‘अस्पतालमा हाल बालरोग विशेषज्ञ नभएको र अर्को व्यवस्था नभएसम्म बच्चा वार्ड बन्द गरिएको छ’ भन्ने सूचना टाँसिएको छ ।
हल्दिबारी गाउँपालिका–२ पाराखोपीकी सममाया कर्मकारले ९ वर्षीया छोरी अनु कर्मकारको उपचारका लागि प्रादेशिक अस्पताल पुग्दा अस्पतालले उपचार हुन नसक्ने बतायो । स्थानीय चिया बगानमा मजदुरी गरी परिवार पाल्दै आएकी सममायाकी छोरी अनुलाई थालेसीमिया अथवा ‘अपुष्ट रक्तकोष’ रगत सम्बन्धी रोग लागेको छ । सरकारी अस्पतालमै डाक्टर नभएपछि आफूजस्तो गरिबले निजी अस्पताल जान नसकेको उनले बताएकी छन् ।
प्रादेशिक अस्पतालमा असार १ गते बालरोग बालरोग विशेषज्ञ चिकित्सक छैनन् । अस्पतालको बालरोग विशेषज्ञ दरबन्दी अनुसार ११ औं तहमा प्रमुख कन्सल्टेन्ट पेडियाटियसियन एक जना, ९ र १० औं कन्सल्टेन्ट पेडियाटियसियन दुई जना गरी तीन जनाको दरबन्दी छ । दरबन्दीमा रहेका ११ औं तहका बालरोग विशेषज्ञ डा.टंकप्रसाद बाह्रकोटी १२औं तहको अतिरिक्त सचिवमा बढुवा भएर स्वास्थ्य मन्त्रालय सरुवा भएपछि अस्पतालमा विषेशज्ञ चिकित्सक रिक्त भएको हो ।
अस्पतालमा ९ औं कन्सल्टेन्ट पेडियाटियसियनमा दुई वर्ष छात्रवृत्ति करारमा नियुक्ति भएका डा.रविन रेग्मीको पनि अवधि सकिएपछि नगर अस्पताल बिर्तामोड गइसकेका छन् । बालरोग विशेषज्ञ नहुँदा मेडिकल अफिसरहरू पारिजा सरकार र विपिन आचार्यले ओपीडीमा बच्चा जाँचिरहेका छन् ।
बालरोग विशेषज्ञका लागि धेरै पटक प्रदेश सरकार समक्ष पहल गरिसकेको बताउँदै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामबाबु खडकाले विशेषज्ञबिना बच्चा वार्ड सञ्चालन गर्न नसकेकोले गत बुधबारदेखि सेवा नै बन्द गरेको जानकारी दिए । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयसँग एकजना बालरोग र एकजना फिजिसियन करारमा नियुक्ति गर्न पहल भइरहेको उनले बताए ।
अस्पतालले करिब ४ वर्षअघि खरिद नवजात शिशु उपचार कक्ष (एनआइसीयु) का लागि आवश्यक उपकरण खरिद गरेको थियो । तर, लाखौँ मूल्यमा खरिद गरिएको उपकरणहरू अस्पतालको एउटा कोठामा प्रयोगविहीन अवस्थामा राखिएको छ । बालरोग विशेषज्ञ नभएकोले एनआइसीयु सञ्चालन हुन नसकेको निमित्त मेसु डा. खडकाले बताए ।
बालरोग विषेशज्ञसँगै एनआइसीयु सञ्चालनका लागि थप बच्चा हेर्न मेडिकल अफिसर चाहिन्छ । तर, अस्पतालमा बालरोग विषेशज्ञ नभएर सेवा नै बन्द भएको बेला एनआईसियु सञ्चालन हुने संभावना तत्काल देखिन्न ।