विराटनगर । इलामको अन्तुमा शौचालय निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्याएको ५ करोड बजेट कटौती गरिने भएको छ ।
मुख्यमन्त्री केदार कार्कीले बजेटबारे उठेका प्रश्नको प्रदेशसभामा जवाफ दिने क्रममै जनाएको प्रतिबद्धता अनुसार शौचालय निर्माणबाट बाँकी रहेको रकम पर्यटन प्रवर्द्धनका लागि लगानी गर्ने कोशी प्रदेशका नवनियुक्त पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले जनाएका छन् ।
मन्त्रालयको जिम्मेवारी पाएलगत्तै आइतबार पदबहाली गर्दै मन्त्री उप्रेतीले शौचालय निर्माण शिर्षकमा छुट्टिएको ५ करोड रकममध्ये ५० लाख सोही प्रयोजनमा खर्च गर्ने र बाँकी रहेको पैसा पर्यटकीय क्षेत्रमा लगानी गर्ने बताएका हुन् ।
प्रदेशका मन्त्री शम्शेर राईको निर्वाचन क्षेत्रमा पर्ने श्रीअन्तुमा शौचालय निर्माण गर्ने भन्दै प्रदेशको बजेटसम्बन्धी रातो किताबमा ५ करोड रुपैयाँ छुट्याइएको थियो । उक्त विषयमा सरकारको चर्को आलोचना हुँदै आएको छ । त्यसबारे उठेको प्रश्नमा मुख्यमन्त्री कार्कीले सरकारले आफ्नो अधिकार प्रयोग गरेर सो रकमलाई मिलाउने प्रतिबद्धता जनाएका थिए ।
मन्त्री उप्रेतीले पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीको निर्वाचन क्षेत्रमा पर्ने गौरादहको पोखरी निर्माणका लागि भएको खर्चको पनि छानबिन गरिने बताएका छन् । उक्त पोखरी निर्माणका लागि भन्दै यस वर्ष पुनः ४ करोड रुपैयाँ छुट्याइएको छ । सो पोखरी निर्माणका नाममा लामो समयदेखि बजेट छुट्याइए पनि काम नभएको भन्दै आलोचना भइरहेको छ ।
‘पोखरी निर्माणको विषयमा पनि विभिन्न कुरा उठेको छ । कति बजेट छुट्याइएको थियो । कति बजेट खर्च भयो र सही ढङ्गले काम भयो भएन भन्ने विषयमा छानबिन हुनेछ’ उप्रेतीले भने, ‘पहुँचको आधारमा बजेट लैजान र कुनै प्रतिफल नहुने क्षेत्रमा लगानी गर्ने प्रबृत्ति रोक्नुपर्छ ।’ गौरादह पोखरीमा करिब १० वर्षदेखि संघ, प्रदेश र स्थानीय सरकारले करौडौं बजेट बिनियोजन गरेको समाचार हाम्रोमतले प्रकाशित गरेको थियो ।
यसैबीच मन्त्री उप्रेतीले आफ्नो कार्यभार सम्हाल्दै प्रदेशको वन ऐनलाई तत्काल संशोधनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन् । वन ऐनका कतिपय विषय संघीय ऐनसँग बाझिएको र कतिपय कार्यान्वयन नहुने विषय भएकोले समयअनुकुल संशोधन गर्नेगरि मन्त्रालयले काम अगाडि बढाउने उनले जानकारी दिए ।
गत कार्तिक १७ गते मन्त्री नियुक्त भएका उप्रेतीलाई मुख्यमन्त्री कार्कीले आइतबार मात्र मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।