विराटनगर । मोरङको धनपालथान गाउँपालिका – ४ कर्सिया बाट भण्डारन गरिएको राजस्व विभागको अन्तःशुल्क स्टिकरसहित एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।
कर्सिया बजारमा रहेको केशव निराना पसलका संचाकल ४८ वर्षीय सुनीलकुमार राजवंशीलाई इलका प्रहरी कार्यालय रंगेलीले शनिबार साझ पक्राउ गरेको हो ।
भोला गुट्खालगायतका सूर्तीजन्य पदार्थको ‘प्याकेट’मा प्रयोग हुने स्टिकर दुरुपयोग भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । पक्राउ परेका राजवंशीले कर्सिया बजरादेखि पूर्वी सहरसम्मका सूर्तीजन्य पदार्थमा लगाएको अन्तःशुल्कको स्टिकर भण्डारन गरि राख्ने गरेका थिए । उक्त अन्तःशुल्कको स्टिकर अन्य पसलहरुसँग ३ देखि ४ रुपैयाँमा खरिद गर्ने र उनले बुटुवलमा रहेको श्री राम उद्योगले उत्पादन गर्ने ‘करेन्ट’ गुटमा पुन: प्रयोगको लागि पठाउने गरेको प्रहरीको अनुस्न्धानबाट खुलेको छ । उनले उद्योगलाई ५ देखि ७ रुपैयाँ प्रति गोटा अन्तः शुल्कको स्टिकर विक्री गर्ने गरेको पाएको छ । विगत एक वर्षदेखि उनले यस्तो काम गर्दै आएको खुलेको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले उनको किराना पसलबाट छापा हानेको थियो । प्रयोगका लागि तयारी अवस्थामा राखिएको अन्तःशुल्क स्टिकर फेला परेपछि राजवंशी पक्राउ परेका हुन् । उनको पसलबाट ‘रेडीमेड टोबाक्को’ लेखिएको ३ हजार १ सय ४० थान अन्तःशुल्क स्टिकर बरामद भएको डीएसपी दाहालले बताए । उनका अनुसार राजवंशीलाई थप अनुसन्धान एवं कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाएको छ । अहिले राजस्व अनुस्न्धान कार्यालयले अनुसन्धान सुरु गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भोला गुट्खाको ‘प्याकेट’मा प्रयोग भइसकेको स्टिकर निकालेर पुनः प्रयोगका लागि उनले पठाउने गरेको खुलेको छ । उक्त स्टिकर राजवंशीले कहाँ र कसलाई पठाउँथेभन्ने बारेमा खुल्न बाँकी छ । तर, यसअघि नै प्रयोग भइसकेको स्टिकर निकाल्दै गुट्खाको खोल र मदिराको बोतललगायतमा पुनः टाँसेर राजस्व छली गर्ने गरिएको प्रहरीको भनाइ छ ।
गुट्खा, मदिरालगायतका वस्तु अन्तःशुल्क स्टिकर लगाएर मात्रै बजारमा पठाउन पाइन्छ । त्यसरी प्रयोग भइसकेको स्टिकर उप्काएर पुनः प्रयोगका लागि पठाउने गरेको पाइएको हो । राजवंशीले त्यस्ता स्टिकर स्थानीय व्यापारीसँग पनि संकलन गर्ने गरेको प्रहरीले जनाएको छ ।
स्थानीय व्यापारीबाट संकलन गर्दै आफ्नो घरमा जम्मा पारेर विराटनगरतिर पठाउने गरेका थिए । उद्योगले व्यापारीको पसल– पसल पठाउन गिरोह नै परिचालन गरेको बुझिएको छ । स्किटरको दुरुपयोग गरेर राजस्व छली गर्न ठूलै गिरोह संलग्न रहेको हुनसक्ने प्रहरीको अनुमान छ। राजस्वको अनुसन्धानपछि थप कुरा खुल्ने र अन्तःशुल्क स्टिकर दुरुपयोगमा संलग्न गिरोहका बारेमा पत्ता लाग्ने जनाइएको छ ।