धनकुटा । एकै स्थानमा चार वटा सवारी साधन दुर्घटना भएपछि शनिबार रातिदेखि अवरुद्ध कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड आइतबार दिउँसोबाट सुचारु भएको छ ।
साँगुरीगढी गाउँपालिका–६, कोलबोटेमा एकै स्थानमा राति चारवटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटनामा परेका थिए ।
एकै स्थानमा लगातार सवारी साधन दुर्घटना भएपछि शनिबार रातिदेखि उक्त सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पाँचथरबाट विराटनगरतर्फ जाँदै गरेको प्रतिनिधिसभा सदस्य दीपक खड्का सवार प्रदेश १–०२–००२ च ३५४५ नम्बरको स्कारपियोलाई विपरित दिशाबाट आउँदै गरेको प्रदेश २–०३–००१ क १५२१ नम्बरको टिपरले साँझ सवा ७ बजे ठक्कर दिएको थियो । जिल्ला ट्राफिक प्रहरी इन्चार्ज चन्द्र श्रेष्ठका अनुसार शनिबार दिउँसो भेडेटारबाट धनकुटा आउँदै गरेको एउटा टिपर दुर्घटनामा परेपछि साँझ अर्को टिपरले ठक्कर दिएर दुर्घटनामा परेको थियो । त्यसपछि तेस्रो टिपरसमेत अघिल्ला दुर्घटनामा परेको टिपरमै ठोक्किएर दुर्घटनामा परेको हो ।
एकपछि अर्को गर्दै दुर्घटना भएपछि तत्काल सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ । क्रेनमार्फत दुर्घटनामा परेका टिपर हटाएर सडक सुचारु गरिएको इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख टंकप्रसाद कोइरालाले जानकारी दिए ।
टिपरको ठक्करबाट सांसद खड्का सवार गाडीको पछाडिको भागमा क्षति पुगे पनि सांसदसहित गाडीमा सवार सबै जना सकुशल रहेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिए । दुर्घटनामा टिपरका सहचालक सिरहाका दिपेन्द्र कुसियत घाइते भएका छन् । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।