विराटनगर । प्रथम संस्करणको टि–२० रंगेली प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति रंगेलीको आयोजनामा पुस ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने भएको हो ।
आयोजकले रंगेलीमा शनिबार पत्रकार सम्मेलन गरी पुस ८ गतेदेखि २२ गतेसम्म स्थानीय जनता क्याम्पसको खेलमैदानमा प्रतियोगिता हुने जानकारी गराएको छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख रुपैयाँको साथै आकर्षक ट्रफी रहेको छ । उपबिजेताले नगद ५१ हजार रुपैयाँ पाउनेछन् ।
रंगेलीको खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समिति रंगेलीका अध्यक्ष बेदमणि घिमिरेले जानकारी दिए । ‘अहिले राखिएको प्रतियोगिताको पुरस्कार राशि बढ्न पनि सक्नेछ,’ उनले भने, ‘सहयोग गर्ने दाता राम्रो आउँदा हामी विजेता र उपबिजेताको पुरस्कार राशि बढाउँनेछौं ।’
प्रतियोगितामा रंगेलीका ६ वटा टिमको सहभागिता रहने खेल संयोजक अभिषेक मण्डलले जानकारी दिए । रंगेली नगरपालिकाभित्रको खेलाडीको टिमहरु रहने उनले बताए । लिग चरणको आधारमा प्रतियोगिता हुनेछ । प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार रहेको छ । प्रतियोगताको म्यान अफ द सीरिज हुने खेलाडीलाई नगद १० हजार, बेस्ट ब्याट्स म्यानलाई ५ हजार १ सय, बेस्ट बलरलाई ५ हजार १ सय, बेस्ट फिल्डरलाई ३ हजार ५ सय रुपैयाँ रहेको खेलकुद विकास समितिका सचिब राजन पनेरुले जानकारी दिए ।
प्रतियोगितामा दर्शकले क्याच गरेमा हरेक क्याचको १ सय रुपैयाँ पुरस्कार राखेको छ । हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई १ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन् । फाइनलको म्यान अफ द म्याच हुने खेलाडीलाई २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न करिब १४ लाख ७५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

