विराटनगर । कोशी प्रदेश सरकारले विभिन्न नामका स्मृति भवनका लागि विनियोजन गरेको बजेट सम्बन्धित दलका पार्टी कार्यालय मर्मत तथा निर्माणमा खर्च हुने देखिएको छ । विगतदेखि नै केही प्रतिष्ठानका नाममा विनियोजन भएको बजेटले पार्टी कार्यालय निर्माण तथा मर्मतको काममा खर्चिने कार्यलाई यस पटक पनि निरन्तरता दिइएको छ ।
प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको आर्थिक वर्ष २०८०–८१ को बजेटमा तीन ठूला पार्टीसँग सम्बन्धित स्मृति भवनहरुका लागि बजेट विनियोजन गरिएको छ । उक्त बजेटबाट पार्टी कार्यालयको भवन, कार्यालय परिसर आदि निर्माण तथा मर्मतको काम हुने बताइएको छ । पार्टी कार्यालयलाई सरकारले सोझै बजेट नदिने भएकोले त्यस्ता पार्टी कार्यालयहरु प्रतिष्ठान वा स्मृति भवनको नाममा सञ्चालन गर्ने गरिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका मुख्यमन्त्री केदार कार्कीले आफ्नो दल नेपाली कांग्रेस, विपक्षी दल नेकपा एमाले, र सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रको कार्यालय भवन बनाउन विभिन्न स्मृति भवनका नाममा चार करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।
काँग्रेस प्रदेश समितिको भवन मोरङको कटहरी गाउँपालिका– २ मा निर्माणधीन छ । पार्टी कार्यालयको नाम शुशीला विश्वेश्वर स्मृति सामुदायिक भवन राखिएको छ । गतवर्ष एक करोड विनियोजन भएपछि निर्माण थालिएको उक्त कार्यालयका लागि यो वर्ष थप दुई करोड ५० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको हो ।
सुशीला–विश्वेश्वर स्मृति सामुदायिक भवन नाममा एक करोड ५० लाख र शुशील विश्वेश्वर स्मृति प्रतिष्ठान भवनका नाममा थप एक करोड छुट्याइएको छ । दुवै नाम गरेको भवन पार्टी कार्यालय नै भएको काँग्रेस प्रदेश समिति स्रोतले बताएको छ ।
एमाले मोरङको कार्यालय विराटनगर ११ पाञ्चालीमा रहेको मदन स्मृति भवनका लागि पनि बजेट विनियोजन गरिएको छ । पहिले दुई तले भवन रहेकोमा अब माथिल्लो तलामा प्रदेश कमिटीका लागि भवन थप्ने एमालेको योजना छ ।
एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले कार्यालय प्रयोजनका लागि स्मृति प्रतिष्ठानको तला थप गर्ने तयारी गरेको जानकारी दिए । त्यसका लागि कोशी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरिदिएको छ ।
सत्तारुढ नेकपा माओवादी केन्द्रको प्रदेश कार्यालय बुढीगंगा गाउँपालिका–२ मा निर्माणधीन छ । डोलराज कोइराला सामुदायिक स्मृति भवन नाम दिइएको उक्त भवन निर्माण गर्न यस वर्ष विभिन्न शीर्षकमा १ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिदिएको छ । गतवर्ष पनि उक्त भवनका लागि ४० लाख रुपैयाँ विनियोजन गरेकोमा खर्च हुन सकेको थिएन ।
काँग्रेस र माओवादीको पार्टी कार्यालय रहने भवन शहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङ मार्फत निर्माण गर्ने कार्य जारी रहेको छ भने एमालेको मदन स्मृतिको काम पनि सोही कार्यालयबाट हुने गरी बजेट विनियोजन गरिएको छ ।