लेटाङको जंगलमा भेटियो लाहा ,व्यवसायिक खेती गर्ने सामुदायिक वनको तयारी

१५ देखि ३५ डिग्रीसम्मको तापक्रममा हुने लाहाको खेतीका लागि मोरङको राजमार्ग उत्तरतर्फको क्षेत्रमा गर्नसकिने सुझाव विज्ञहरुले दिएका छन् ।

विराटनगर । मोरङको उत्तरी क्षेत्र लेटाङको सामुदायिक वनमा ‘लाहा’ फेला परेको छ । विशेष गरेर पहाडी क्षेत्रमा मात्र उत्पादन हुने लाहा तराईमा भेटिएपछि डिभिजन वन कार्यालय मोरङ व्यवसायिक उत्पादन गर्न उत्साहित देखिएको छ ।

डिभिजन वन कार्यालय मोरङले केही दिन अगाडि गरेको निरीक्षणका क्रममा लेटाङ नगरपालिका–८ स्थित लालहिरा सामुदायिक वनभित्रको जंगलमा ‘लाहा’ भेटिएको हो ।राम्रो आम्दानी लिन सकिने भएपछि लालहिरा सामुदायिक वनले व्यवसायिक रुपमा लाहा खेती गर्ने प्रक्रिया अगाडी बढाएको अध्यक्ष धनबहादुर राईले बताए । यहाँको सामुदायिक वन भित्र सिरिज, मौहा, वयर, पटके प्रजातिमा लाहा भेटिएको छ । लाहा प्राकृति रुपमा रुखमा भेटिने एक प्रकारको कीरा हो । यसबाट ‘चप्रा’ लगायतका विभिन्न वस्तुहरु उत्पादन गर्न सकिन्छ । चप्रा फनिचर उद्योग र सुन पसलमा प्रयोग गरिन्छ ।

लाहा वनमा भेटिएपछि यसको संरक्षण गर्ने र व्यवसायिक रुपमा खेती गर्ने तयारी गरिएको अध्यक्ष राईले बताए । ‘सामुदायिक वन भित्र सिरिज र मौहा प्रजातिका ठूलो रुखहरुमा लाहा भेटिएको छ,’ उनले भने, ‘यसको संरक्षण गर्ने र व्यवसायिक रुपमा खेती गरेर वनको आम्दानी बढाउने विषयमा बैठक बसेर निर्णय पनि भएको छ ।’ डिभिजन वन मोरङबाट पनि यस विषयमा सुझाव आएपछि लाहाको खेती गर्ने विषयमा अगाडि बढेको उनले सुनाए ।

मोरङका डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेले उक्त वन निरीक्षण गर्ने क्रममा लाहा फेला परेको थियो । त्यस क्रममा सिरिस, मौहा, वयर, खयर, पटके प्रजातिमा लाहा भएको पुष्टि भएको थियो । लाहा पहाडी क्षेत्रमा बढी उत्पादन लिन सकिने भएकोले खेतीको सम्भावना पहाडी भूगोलमा राम्रो रहेको उनले बताए ।

तराई क्षेत्रमा लेटाङमा पहिलो पटक लाहा भेटिएको डिभिजन वन अधिकृत घिमिरले दावी गरे । लाहा खेती गरेर यसबाट राम्रो आम्दानी लिन सकिने उनले बताए । खयर, बयरलगाएतका वनस्पति प्रशस्त मात्रामा लाहा भेटिने उनले बताए ।‘लाहा खेती गरि विस्तार गर्न सके यसको माग र आवश्यकता व्यापक छ । लाहाबाट चप्रा उत्पादन गर्ने उद्योगहरु सञ्चालनमा छन्,’ उनले भने, ‘चप्रा उत्पादन गर्ने उद्योगहरुले अहिले करडौं रुपैयाको लाहा विदेशबाट आयात गरिरहेका छन् । यहाँ उत्पादन गर्न सकेमा लाहाको बजारीकरणमा पनि कुनै समस्या हुँदैन ।’

किसानलाई लाहा खेतीबारे जानकारी दिन झापा, धनकुटा र संखुवासभाबाट लाहाको खेती गरिरहेका अगुवा किसान तथा विज्ञहरुलाई ल्याएर यसको बजार तथा खेती गर्ने तरिकाबारे जानकारी दिने उनले बताए । लाहा खेती गर्न इच्छुक निजी तथा सामुदायिक वनका उपभोक्ताहरूको तथ्यांक संकलन गरेर खेती विस्तारलाई जोड दिने तयारी पनि गरिएको उनले बताए । आवश्यक परे किसानहरुलाई अध्ययन भ्रमणसमेत गराउने योजना रहेको उनको भनाइ छ ।

‘पहाडी जिल्लाहरु भोजपुर, संखुवासभामा लाहा खेतीका लागि धेरै क्षेत्रहरु उपयोगी छन् । यसको व्यावसायिक खेती गर्न सके वन पैदावरको सरक्षणसँगै आयस्तरलाई बृद्धि गर्न सकिन्छ,’ उनले भने, ‘यहाँका किसानहरुलाई खेती प्रविधिको विषयमा जानकारी दिएर व्यावसायिक बनाउने योजना रहेको छ ।’ आम्दानी राम्रो हुने भएकोले यस खेतीप्रतिको आर्कषण बढने उनले बताए ।

किसानहरुलाई आयआर्जनमा जोड्न सकिने साथै खेर गइरहेका जमिनहरुको सदुपयोग हुने भएकाले लाहाको खेतीमा जोड दिनुपर्ने उनले बताए । ‘मोरङको वनमा पहिलो पटक लेटाङमा लाहा भेटिएको हो । लालहिरा सामुदायिक वनमा लाहा खेती गर्न सकिन्छ,’ उनले भने, ‘यसलाई सफल बनाउन हामी पनि योजनाबद्ध रुपमा काम गर्छौँ । बजारीकरणको लागि कुनै समस्या छैन ।’

बजारमा लाहाको माग धेरै रहेको झापामा लाहाको उद्योग सञ्चालन गरिरहेका डम्बर विश्वकर्माले बताए । जति उत्पादन भएपनि उत्पादित लाहाको जिम्मा आफूले लिने उनको भनाइ छ । ‘अहिले पनि लाहाको बजार मागलाई धान्न सकिएको छैन । नेपालमा यसको खासै खेती हुँदैन । अहिले पनि भारतको बजारबाट लाहाको खरिद गर्नु पर्ने अवस्था छ,’ उनले भने, ‘तेह्रथुम, भोजपुर, धनकुटा, झापा र संखुवासभालगायत ठाउँबाट पनि केही मात्रामा लाहाको कच्चा पदार्थ ल्याउने गरेको छु । त्यसैले जति पनि उत्पादित लाहा हुन्छ । त्यसको बजारको जिम्मा म लिन्छु । यसबाट हामीले आयस्तरलाई राम्रो बनाउन सक्छौ भने, भारत जाने करोडौँ रुपैयाँलाई नेपालमा रोक्न सक्छौं ।’

भारतमा १५ वर्षभन्दा बढी लाहा उत्पादन गर्ने कम्पनीमा काम गरेर त्यसको अनुभवको आधारमा नेपाल नै उद्योग खोलेको विश्वकर्माले बताए ।
लाहालाई खयर, बयर, मौवा प्रजातिका रुख विरुवासँगै सामिया लता जातको विरुवालाई विस्तार गरेर व्यावसायिक रुपमा खेती गर्न सकिने उनको भनाइ छ ।

‘खयर, बयर नभएका स्थानमा सामिया, लता आदि जातको विरुवा विस्तार गरेर लाहाको व्यावसायिक खेती गर्न सकिन्छ । यस्ता जातका विरुवामा लगाएको लाहाबाट १० वर्षसम्म आम्दानी लिन सकिन्छ,’ विश्वकर्माले भने, ‘यसबाट कुसुमी जातको लाहा उत्पादन हुन्छ । जुन लाहाको मूल्य र माग रंगिनी जातको लाहाभन्दा धेरै बढी छ । यसबाट दुई पटक लाहा संकलन गर्न सकिन्छ । यो प्रजातिको विरुवा बढीमा पाँचदेखि सात फिट उचाइ हुने भएकाले संकलन गर्न सजिलो छ भने उत्पादन पनि राम्रो लिन सकिन्छ ।’

लाहाको कच्चा पदार्थ प्रतिकिलो २५० देखि ८०० रूपैयाँसम्म र यसको प्रशोधन गरेपछि प्रतिकिलो एक हजार ८०० देखि दुई हजार रूपैयाँसम्म बिक्री हुने गरेको विश्वकर्माले जानकारी दिए । फर्निचर कारखाना, सुन पसललगायत अन्य विभिन्न काममा प्रयोग हुने लाहा भारतीय बजारबाट आउने गरेको उनको भनाइ छ ।

१५ देखि ३५ डिग्रिसम्मको तापक्रममा यसको खेती गर्न सकिने भएकोले मोरङको राजमार्गदेखि उत्तर क्षेत्रमा लाहा खेती गर्न सकिने निश्कर्षमा विज्ञहरु पुगेका हुन् ।लाहा उत्पादनलाई लक्षित गरेर अहिले गौरादहमा १० हजार विरुवा लगाइएको छ । भारतबाट आयात हुने लाहा प्रतिस्थापन गर्ने उद्देश्यले झापामा व्यवसायिक खेती सुरु गरिएको हो । लाहा खेती गर्दा पहिलो वर्ष एउटा विरुवामा २५० ग्राम लाहा उत्पादन हुने गरेको छ । किरा छोडिएको ६ महिनाभित्रमा लाहा उत्पादन लिन सकिन्छ ।

आइतबार, १७ मंसिर, २०८०, बिहानको ०७:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर