विराटनगर । कोशी प्रदेशसभाबाट पारित भएको बजेट प्रदेश प्रमुख परशुराम खापुङबाट प्रमाणिकरण भएको छ ।
प्रदेशसभाको मंसिर १३ गतेको बैठकले पारित गरेको कोशी प्रदेश आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक २०८०’ र कोशी प्रदेश बिनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केहि रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०८०’ आज प्रमाणिकरण भएको हो ।
हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई केदार कार्की नेतृत्व्को वर्तमान सरकारले प्रतिस्थापन गरेको हो । बिधेयक प्रदेशसभाबाट सर्वसम्मत रुपामा पारित भएको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीले मंसिर ९ गते अध्यादेशबाट आएको बजेटमा ५० करोड थप गर्दै प्रतिस्थापन विधेयक ल्याएका थिए । बजेटको आकार ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको छ ।