विराटनगर । विराटनगरमा भ्रामक/मिथ्या सूचना विरुद्धको कार्यशाला हुने भएको छ । नेपालस्थित अमेरिकी दुतावास अन्तर्गतको युवा परिषदमा आबद्ध युवाहरुको समूह, प्रोजेक्ट जागरणले भ्रामक/मिथ्या सूचना विरुद्ध युवाहरुलाई सशक्त पार्ने उदेश्यले कार्यशाला आयोजना गर्न लागेको हो ।

यहि मंसिर १४ र १५ गते विराटनगरस्थित शिक्षादीप कलेज र अरनिको कलेजमा कार्यशाला आयोजनाको तयारी हुँदैछ । कार्यशालामा युवा परिषदमा आबद्ध युवाहरुले भ्रामक/मिथ्या सूचना विरुद्ध तयार पारेका सामाग्रीहरु प्रस्तुत गर्नेछन् । करिब दुई घण्टासम्म चल्ने कार्यशालाका सहभागिहरुले सहि सूचना र मिथ्या सूचनाबीचको फरक छुट्टयाउन विभिन्न विधीहरुसमेत सिकाइने छ ।

मंगलबार बिहान पत्रकारहरुसँगको भेटघाटमा प्रोजेक्ट जागरणकी संयोजक श्रृजा खनालले मिथ्या सूचनाको प्रभाव केही हदसम्म न्यून गर्न प्रोजेक्ट जागरण सुरु गरेको बताइन् । ‘सामाजिक सञ्जालमा मिथ्या सूचनाको बाढी नै छ,’ उनले भनिन्, ‘केही हदसम्म न्युन गर्न र सर्वसाधारणलाई मिथ्या सूचना र सहि सूचना बीचको फरक बुझ्न सजिलो बनाउन हामीले प्रोजेक्ट जागरण सुरु गरेका हौं।’

उनका अनुसार प्रोजेक्ट जागरण गलत/भ्रामक सूचना विरुद्ध युवाहरुलाई सचेत पार्दै समुदायलाई सशक्त पार्ने अभियान हो ।