काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (यूएई) जादै छन । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८० को २८औँ सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज यूएई जान लागेका हुन् ।
कोप–२८ को २८औँ सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म यूएईमा हुनेछ । प्रधानमन्त्री प्रचण्ड डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन् । डिसेम्बर २ मा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीको साथमा वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो सहित अन्य वरिष्ठ अधिकारीहरू पनि जानेछन् ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्सको ५२औँ ‘युनियन डे’को अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुनेछन् । उनी यूएईले आयोजना गर्ने जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड समारोहमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ ।