विराटनगर । मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयक मार्फत आएको बजेटले सबै पक्षलाई न्यायोचित व्यवहार गरेको बताएका छन् । विनियोजन विधेयकमाथिको छलफल सकिएपछि मंगलबार छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले बजेट समाजवाद उन्मुख, सन्तुलित र क्षेत्रगतरुपमा न्यायोचित रहेको दावी गरेका हुन् ।
विनियोजन विधेयकमा छलफल हुँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले बजेट कटौती गरेको भन्दै चर्को विरोध जनाएका थिए । अध्यादेशमार्फत आएको बजेटमा भएका योजनाहरु प्रतिस्थापन विधेयक ल्याउँदा काटिएको भन्दै सांसदहरु सरकारविरुद्ध रुष्ट देखिएका थिए ।
सांसदहरुले बजेट काटिएको विषयलाई प्राथमिकता दिएर सरकारको आलोचना गरेपछि मुख्यमन्त्री कार्कीले असन्तुलित बजेटलाई मिलाउन धेरै बजेट भएको ठाउँबाट काटेर कम भएको क्षेत्रमा थपिएको स्पष्ट पारे । उनले भने ‘यस बजेटमा अध्यादेशमा भएजस्तो हात्ती र मुसाजस्तो असन्तुलित स्वरुपलाई मिलाउने प्रयत्न गरिएको छ । तपाईँको क्षेत्रको बजेट काटेर बाढीले पुल बगाएको हेवा खोलामा हालेको छु । पहिरोले बगाएको बाटोमा हालेको छु ।’
मुख्यमन्त्री कार्कीले अन्य निर्वाचन क्षेत्रको बजेट काटेर आफ्नो निर्वाचन क्षेत्रमा नलगेको पनि स्पष्ट पारेका छन् । ‘अध्यादेशमा जति बजेट मेरो निर्वाचन क्षेत्रमा विनियोजन भएको थियो त्यो भन्दा अहिले घटेको छ,’ मुख्यमन्त्री कार्कीले भने ‘रातो किताब राम्ररी पढ्नु होला त्यहाँ पहिलेको भन्दा बढी बजेट पाउनुभयो भने म जवाफ दिन तयार छु, त्यस्तो भएको छैन ।’
सरकारले जनताप्रति उत्तरदायी र जिम्मेवार भएर कार्यक्रम बनाएको भन्दै सरकारले ल्याएको १० वर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सुविधा, प्रत्येक पालिकाबाट दुई जना विद्यार्थीलाई कृषि तथा पशु विषयमा स्नातक तह अध्ययन गर्न छात्रवृत्ति दिने, बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नम्बरी जग्गा खरिद गरेका सुकुम्बासीहरुलाई ब्याज मिनाहा गर्ने जस्ता कार्यक्रमको मुख्यमन्त्री कार्कीले बचाव गरे । ‘बच्चाको उपचार गर्न नसकेर नाक र कानमा लगाएको गहना बेचेको मैले देखेको छु, हो तिनै बालबालिकाको जीवन बचाउन सांसदको घर जाने बाटोको योजना काटेर उपचारमा सहयोग गर्न खोजिएको हो,’ मुख्यमन्त्री कार्कीले भने ‘जनताका लागि यो काम गर्दा मुख्यमन्त्री छोड्नु पर्छ र छोडाउनु हुन्छ भने म तयार छु ।’ उनले प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको उपचारका लागि विनियोजन गरेको बजेट पर्याप्त रहेको पनि दावी गरे । सरकारले पहिले नागरिकको जीवन त्यसपछि मात्र भौतिक पूर्वाधार, पहिले मानवीय विकास अनि भौतिक विकास गर्ने सोचका साथ बजेट बनाएको मुख्यमन्त्रीको दावी थियो ।
जनताको आवश्यकतामा भन्दा लोकप्रिय बजेट बनाउन ध्यान दिएको भनी भएको आलोचनाको जवाफमा मुख्यमन्त्री कार्कीले बजेट लोकप्रिय नै हुनुपर्ने बताए । उनले भने ‘लोकका लागि काम गर्नुपर्ने भएकोले बजेट लोकप्रिय हुनैपर्छ ।’ उनले यो बजेटको आधार अध्यादेश नै भएको भन्दै ‘अरुको खलियानमा हात हालेर थोरै मिलाउन खोजेको मात्र हुँ ।’
मुख्यमन्त्री कार्कीले अध्यादेशमार्फत आएको बजेट विचारहीन रहेकोले त्यसलाई विचार दिएको टिप्पणी पनि गरे । उनले समाजवादी योजना र कार्यक्रम समावेश गरेर बजेटलाई लोकको घरमा पु¥याउन खोजेको र निष्प्राण बजेटमा प्राण भर्ने काम गरेको टिप्पणी गरे ।
प्रतिस्थापन विधेयक मार्फत आएको बजेटप्रति प्रतिपक्ष र सत्तापक्ष दुवैतर्फका सांसदहरु असन्तुष्ट रहेको पाएको भन्दै दुवै पक्ष असन्तुष्ट हुनुले सरकारले योजनामा कसैलाई भेदभाव नगरेको पुष्टि हुने जिकिर उनले गरेका छन् । मुख्यमन्त्री कार्कीले बजेटमार्फत महिला र युवालाई उद्यमी बनाउने प्रयत्न गरेको पनि दावी गरे ।
मुख्यमन्त्री कार्कीले पर्यटन, सिंचाइ र भौतिक पूर्वाधारको बजेटमा २५ लाख रुपैयाँको सीमा कायम गरिएको बताए । ‘पर्यटनमा केही सम्पन्न हुने अवस्थाका, दायित्व भुक्तानी गर्नुपर्ने पुरानो योजनाको नाममा वा संघीय सरकारबाट आएका सशर्तका योजनामा पाँच लाख वा सोभन्दा कम र दश लाखका योजना देख्नुभयो होला, तर प्रदेशले सकेसम्म साना योजनामा रकम विनियोजन गरेको छैन,’ जवाफका क्रममा मुख्यमन्त्री कार्कीले भने ।
मुख्यमन्त्री कार्कीले बजेटमा भएका कमजोरी दलहरुबीच छलफल गरेर सच्याउन तयार रहेको र छलफलका लागि सरकार सँधै खुला रहेको भन्दै केही नयाँ गर्ने हिम्मतका साथ आएको बजेट कार्यान्वयन गर्न सबैको सहयोग रहने विश्वाससमेत व्यक्त गरेका छन् ।