सम्पादकीय
शान्तिको नाममा इजरायलले प्यालेस्टानी भूमि गाजामा गरेको निरन्तरको आक्रमण शुक्रबारदेखि रोकिएको छ । युद्ध रोकिँदा असोज २० देखि प्यालेस्टानको पक्षमा उभिएको लडाकु समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी यसबीचमा घर फर्किएलान् भन्ने आशाको सञ्चार भएको छ । यद्यपी करिब ६० जनालाई हमासले मुक्त गर्दा पनि विपिनको अत्तोपत्तो छैन । इजरायलको दक्षिणी क्षेत्रमा अक्टोबर ७ मा हमासले गरेको हमलामा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । त्यतिबेलै विपिन अपहरणमा परेका थिए । कृषिसम्बन्धी विषयका विद्यार्थी सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । विपिन अहिले कहाँ र कुन अवस्थामा छन् भन्नेबारे केही खुलेको छैन । युद्ध थामिएका बेला विपिनको रिहाइका लागि नेपाल सरकारले सबै कुटनीतिक प्रयास गर्नुपर्छ । इजरायल–हमासबीच युद्धविराम गराउन भूमिका खेलेको कतारमार्फत नेपालले उनको उद्धारको पहल अझै बढाउनुपर्छ ।
करिब दुई महिनादेखि जारी युद्धमा हजारौंको हताहती र लाखौंको विस्थापन भएको छ । संयुक्त राष्ट्रसंघसहित विभिन्न मुलुकहरुले गाजाको उत्तरी क्षेत्रमा मानवीय सहायताका युद्ध रोक्न आग्रह गर्दै आएका थिए । कतारको मध्यस्थतामा इजरायली जेलमा रहेका प्यालेस्टाइनी र हमासको नियन्त्रणमा रहेका इजरायलीसहित अन्य मुलुकका नागरिक रिहा गर्नेगरि दुबैले युद्धविराम गरेका हुन् । युद्धविराम केही दिनका लागि मात्र भनिए पनि कैयौं नागरिकमा जीवनको आशा सञ्चार भएको छ । युद्धविरामका बेला इजरायलले आफ्नो जेलमा रहेका १ सय ५० प्यालेस्टाइनी र हमासले गत अक्टोबार ७ मा बन्धक बनाइएका ५० जनालाई छाड्ने सहमति छ । युद्धविराम गराउन र आफ्ना नागरिक छुटाउन थाइल्यान्ड र फिलिपिन्सले कूटनीतिक पहल गरेका थिए । त्यो सफल भएकाले नेपालको पहल पनि थप गम्भीर हुनुपर्ने देखिएको छ ।
इजरायलसँगको सहमतिअनुसार हमासले ५० जनालाई मात्र मुक्त गर्नेछ । त्यो संख्यामा विपिन छुटेनन् । यद्यपी युद्धविराम लम्ब्याउने समाचार आएको छ । त्यो सुखद् पक्ष हो । हमासको नियन्त्रणमा करिब २४० रहेको अनुमान गरिएको छ । हमासले थप बन्धक छाडे युद्धविराम लम्ब्याउने इजरायलले बताउँदै आएको छ । यो बेला नेपालले श्रमसम्बन्ध रहेको कतार तथा इजरायलसँग कूटनीतिक सक्रियता बढाउनुपर्छ । मानवीय मूल्य र हमासको बदलाको नाममा इजरायलले गाजामा भएको संहार हेर्न हो भने युद्ध सदाको लागि रोकिनुपर्छ । प्लेस्टाइन समस्या समाधानको लागि इजरायल र पश्चिमा मुलुकहरु अनुदार भएकै कारण सो क्षेत्र दशकौंदेखि असान्त छ । अहिलेसम्मको युद्धमा लाखौं मानिस मारिएका छन् भने त्योभन्दा धेरै विस्थापित भएका छन् । मुक्तिको लागि भन्दै लड्ने हमास समूह र बदला लिने भन्दै प्रत्याक्रमणमा उत्रने इजरायलको कारण पछिल्लो युद्धमा मात्र हजारौं सर्वसाधारणले ज्यान गुमाएका छन् भने लाखौं घरवारविहिन भएका छन् । विद्यालय, अस्पताल र धार्मिक क्षेत्रमा भएको बमबारीले मानवताकै खिल्ली उडाएको छ ।
इजरायलले ‘युद्ध अन्त्य भइनसकेको’ चेतावनी दिएकोले फेरि पनि युद्धको त्रासदी बाँकी नै छ । मानवीय सहायता सामग्रीको आपूर्तिमा समेत गरिएको कडाइले इजरायली शासकको ज्यादती देखिन्छ । युद्धको निरन्तरता थप मानवीय र भौतिक क्षति हो । त्यसैले युद्धलाई रोक्न वार्ता–संवादबाट समस्याको दिर्घकालिन समाधान खोज्नुपर्छ । कतार, इजिप्टलगायत मुलुक र संयुक्त राष्ट्रसंघको भूमिका यसमा थप प्रभाबकारी हुनुपर्छ । नेपालले अन्तराष्ट्रिय मञ्चमार्फत शान्तिको लागि आवाज उठाउनुपर्छ । त्योसँगै अहिलेको प्राथमिकता विपिन जोशीको रिहाई र उद्धारको लागि सम्पूर्ण शक्ति र संयन्त्र परिचालन गर्नुपर्छ ।