विराटनगर । व्यवस्था परिवर्तन गर्दै भन्दै आन्दोलनमा रहेका दुर्गा प्रसाईंको कार्यक्रममा गएर सडक अबरोध गरेको भन्दै सोमबार काठमाडौंको गौशालाबाट विवादित धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको छ ।
त्रिशूलसहित सडकमा निस्किएका उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रसाईँको आव्हानमा गौशालामा निकालिएको जुलुसमा सहभागी आचार्य श्रीनिवाससहितको समूहले सुरुमा सडकमै सुतेर सवारी साधन सञ्चालनमा अबरोध गरेका थिए । गौशालाको मूल सडक नै कब्जा गर्ने क्रममा प्रसाईँ समर्थकलाई प्रहरीले बल प्रयोग गरेको थियो ।
प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले श्रीनिवाससहित १० जनालाई पक्राउ गरेको हो । उनीहरु पक्राउ परेपछि प्रसाईका समर्थकहरु तितरबितर भएका थिए । स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस पनि प्रहार गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार भिडलाई उत्तेजित बनाउन उग्र अभिव्यक्ति दिएपछि श्रीनिवासलाई पक्राउ गरिएको हो । आचार्य श्रीनिवासले पटक–पटक धर्मको विषयमा उत्तेजक अभिव्यक्ति दिँदै आएका हुन् ।
उनले १२ असोजमा जनकपुरमा आयोजित धार्मिक सभामा ‘खुकुरी’ देखाउँदै उत्तेजक भाषण गरेका थिए । त्यसबेला पनि उनी पक्राउ परेका थिए । श्रीनिवासले विराटनगरमा २०७४ चैत २५ गते धार्मिक हिंसा भड्काउने उद्देश्यसहित आफैंलाई गोली हान्न लगाएका समेत थिए ।