सुनसरीको रामधुनी नगरपालिकाका पूर्वउपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

विराटनगर । सुनसरीको रामधुनी नगरपालिकाका पूर्वउपप्रमुख र तत्कालिन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक कालोपत्रे गर्दा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेको आरोपमा पूर्वउपप्रमुख सविनाकुमारी चौधरी, र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेसहित ९ जनाविरुद्ध सोमबार विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले रामधुनी ३ का तत्कालिन वडाध्यक्ष राजकुमार चौधरी, वडा सदस्य टीकालक्ष्मी श्रेष्ठ र योजना शाखाका नासु सुनीलकुमार चौधरी विरुद्ध पनि मुद्दा दायर गरेको छ । उनीहरुमाथि झुटो प्रतिवेदन दिएको आरोप छ ।यस्तै लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इञ्जिनियर देबेन्द्रनारायण चौधरी र सव–इञ्जिनियर हर्षलाल चौधरीमाथि सडक कालोपत्र गर्दा बढी रकम भुक्तानी गरी राज्यकोषमा हानीनोक्सानी पु¥याएको आरोपमा मुद्दा दायर गरिएको छ ।

अख्तियारले झुट्टा बिल, नापी किताब र कार्यसम्पादन प्रतिवेदन नै झुटो बनाइ २ लाख १२ हजार रुपैयाँ बढी भुक्तानी गरेको आरोप लगाएको छ । अख्तियारले सडक पिच गर्ने ठेक्का पाएको जालपा सिद्ध निर्माण सेवा, सुनसरीका सञ्चालक नानु कुमारी निरौला विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

रामधुनी ३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मुल सडक सिंगियादेखि वडा नं. ४ को लालपुर गाउँसम्म कालोपत्रे सडक निर्माण कार्यमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको हो । बाटोको स्थलगत रुपमा नापजाँच गरी नापी कितावमा वास्तविक परिमाण चढाउने र निर्माण व्यवसायीले पेश गरेको बिल सही छ छैन चेकजाँच गरी कार्यसम्पन्न प्रतिवेदन तयार गर्नुपर्नेमा निर्माणस्थलमा नभएको काम पनि नापी कितावमा समाबेश गरी गलत प्राविधिक प्रतिवेदनसमेत तयार गरेको आरोप अख्तियारले लगाएको छ ।

आरोपीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को देहाय (ङ) बमोजिमको कसुर गरेकोले ओमकारप्रसाद न्यौपाने, द्वारिकाप्रसाद दाहाल, देबेन्द्रनारायण चौधरी र हर्षलाल चौधरीलाई २ लाख १२ हजार ७३ रुपैयाँ ५८ पैसा बिगो कायम गरी मुदा दायर भएको हो ।

रामुधनी नगरपालिकाका तत्कालीन उपप्रमुख सविनाकुमारी चौधरी, वडा नं. ३ का तत्कालीन वडाअध्यक्ष राजकुमार चौधरी, वडा नं.३ का तत्कालीन वडा सदस्य टिकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौ तहका सुनीलकुमार चौधरीले अनुगमन तथा मूल्याङ्‍कन समितिमा रही स्थलगत अनुगमनका क्रममा निर्माण कार्य सम्पन्न नहुँदै कार्य सम्पन्न भनी माइम्यूट गरेको अभियोगमा मुद्दा दायर भएको छ ।

सोमबार, ११ मंसिर, २०८०, दिउँसोको ०२:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर