विराटनगर । मोरङको बेलबारी नगरपालिका –११ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयका विज्ञान शिक्षक क्यानडा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षले पढाउन थालेका छन् ।
विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारी राजीनामा दिएर क्यानडा लागेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द भण्डारीले विद्यार्थीलाई पढाउन थालेका हुन ।
अध्यक्ष भण्डारी सोही विद्यालयका पूर्व प्रधानाध्यापकसमेत हुन । ‘विद्यालयमा आउने अनुमति दिएका शिक्षक यहाँ आइपुग्न समय लाग्ने भयो,’भण्डारीले भने, ‘विद्यार्थीको पठनपाठनमा असर गर्ने भएकाले नयाँ शिक्षक नआएसम्म पढाउन थालेको हुँ ।’ उनले विद्यार्थीको पठनपाठनमा शिक्षक नहुँदा असर नगरोस् भनेर सहयोग गरेको बताए ।
भूपराज कि श्रीमती भारती अधिकारी पनि बेलबारी ३ मा रहेको भगवती माविमा निम्न माध्यमिक तह विज्ञान दरबन्दीकी शिक्षिका हुन । श्रीमान् श्रीमतीले नै राजीनामा दिएर वैदेशिक रोजगारीमा गएका छन् ।
मोरङमा भण्डारीलाई सामुदायिक विद्यालय सुधारकका रूपमा चिन्ने गरिन्छ । विद्यालयको नेतृत्व भण्डारीले समालेपछि बेलबारी ११ का अधिकांश बोडिङ स्कुलमा पढ्ने विद्यार्थीहरू लक्ष्मी माविमा पढ्ने गरेका थिए । विद्यालय व्यवस्थापन समितिमा उनी सर्वसम्मत चुनिएका थिए ।