संखुवासभा । संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ हजार बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन् ।

यातायातको पहुँच नपुगेको भोटखोलामा विपन्नता र ज्यालामजदुरी गरी जीविका चलाइरहेका नागरिक घरआँगनमै निःशुल्क उपचार तथा औषधि पाएपछि खुसी ब्यक्त गरेका छन् ।

जिल्लामा एक सरकारी सहित तीन अस्पताल छन् । जिल्ला अस्पताल संखुवासभामा विशेषज्ञ सुविधा पनि छ । तर दुर्गम बस्तीको स्वास्थ्य अवस्था भने निकै नै कमजोर छ । भौगोलिक हिसाबले दुर्गम भोटखोलाका अधिकांश नागरिकलाई साँझ–बिहानको छाक टार्न नै मुस्किल हुने गरेको छ । जग्गा–जमिनमा उब्जनी गरेको खाद्यान्यले उनीहरूलाई ६ महिना पनि खान पुग्दैन ।

भोटखोला गाउँपालिकाले राखेको स्वास्थ्य शिविरले पनि समग्र जिल्लाको स्वास्थ्य अवस्थालाई छर्लङ्ग पारेको छ । गाउँपालिकाले दुई वडामा राखेकोविशेषज्ञ स्वास्थ्य शिविरमा एक हजार २४८ नागरिकले स्वास्थ्य सेवा लिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।

दुर्गम गाउँमै स्वास्थ्य सेवा र औषधि पाएपछि पदैल ४ देखि ५ दिन लगाएर सदरमुकाम खाँदबारी जानु पर्ने बाध्यता हटेको भोटखोला–४ सिप्रुङका ७८ बर्षीय सिनेन लामाले बताए । घर–आँगनमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा खुसी लागेकको स्थानिय स्थानीय लामाले बताए । चीनको तिब्वत सँग सिमाना जोडिएको भोटखोला नागरिक उपचारका लागि सदरमुकाम आउन पदैल पाँच दिन लाग्ने गर्दछ । भौगोलिक रुपमा निकै विकटता भएको भोटखोलामा विषेशज्ञसहतिको सेवा पाउनु निकै महत्वपूर्ण उपलब्धी भएको संखुवासभाका प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले बताए ।

दुर्गम गाउँमा विषेशज्ञसहतिको शिविर सबै स्थानीय तहले राख्ने हो भने भौगोलिक विकटता र विपन्नताका कारण औषधि उपचार नगर्नेहरूले फाइदा पाउने प्रदेशसभा कार्कीले बताए । दुर्गम भेगका स्वास्थ्य क्षेत्रमा राज्यले विशेष ध्यान जरुरी भएको प्रदेशसभा सदस्य कार्कीले बताए । विपन्नको लागि स्वास्थ्य,नेपाल घुन्सा फाउन्डेसन काठमाडौंको सहयोग तथा भोटखोला गाउँपालिकाको आयोजनामा विभिन्न वडाहरुमा स्वास्थय शिविर सञ्चालन गरिएको अध्यक्ष भोटेले बताए । काठमाडौं बीर अस्पताल लगाएत अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य सेवा दिएको उनको भनाइ छ । विशेषज्ञ स्वास्थ्य शिविरमा भिडियो एक्सरे, यौन तथा प्रजनन् स्वास्थ्य, बाल रोग, नाक कान घाँटी,मुटु रोग सहितको सेवा दिएको थियो ।