विराटनगर । कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार साताव्यापी भ्रमणको लागि आइतबार राति अष्टेलिया जाने भएकी छन् ।
वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको अध्ययन भ्रमण कार्यक्रमको लागि दनुवार अस्टे«लिया जाने भएकी हुन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा ७ वटै प्रदेशका सभामुख र र उपसभामुख अस्ट्रेलिया जान लागेका हुन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संसद् सहयोग परियोजना अन्तर्गत उनीहरु अध्ययन भ्रमणको लागि अस्ट्रेलिया जान लागेका हुन् ।
युएनडिपी नेपाल र सङ्घीय संसद् सचिवालयबीच समझदारी भई सङ्घीय संसद् र प्रदेशसभाहरूमा संसद् सहयोग परियोजना सञ्चालित छ । परियोजनाको सन् २०२३ का लागि स्वीकृत कार्यक्रम अन्तर्गत सङ्घीय संसद्का लागि छुट्याइएको कार्यक्रममध्ये ‘सपोर्ट फेडेरल पार्लियामेन्ट टु शेयर नलेज एण्ड वेष्ट प्राक्टिस फर पार्लियामेन्ट्री फाइनान्सियल एण्ड एडमिनिस्ट्रिटिभ रिर्सोसेस एलोकेसन’ मा भ्रमण हुन लागेको हो ।
प्रतिनिधिमण्डलले अस्ट्रेलियाको संसद् र न्यु साउथ वेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसदहरूमा भेटघाट तथा अन्तरक्रिया गर्नेछ । टोलीमा कोशीका उपसभामुख दनुवार, सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारी, कर्णालीका सभामुख नन्दा गुरुङ, गण्डकीका सभामुख कृष्णप्रसाद धिताल, मधेसका उपसभामुख बबिताकुमारी राउत, बागमतीका उपसभामुख अपसरा चापागाईँ र लुम्बिनीका उपसभामुख मेनुका खाँडसहित सहभागी छन् ।
भ्रमण सम्पन्न गरी अध्यक्ष मङ्सिर १८ गते र प्रतिनिधिमण्डलका अन्य मङ्सिर १६ मा नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।