विराटनगर । नेकपा एमाले सचिव योगेश भट्टराई सवार गाडी तोडफोड भएको छ । प्रतिनिधिसभाका सदस्य समेत रहेका भट्टराई ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले गाडी तोडफोड गरेका हुन ।
सात / आठ जनाको समूहमा रहेका पहिचान पक्षधरहरुले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेको एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए । आक्रमणकारीले हानेको ढुंगाले गाडीको अगाडिको भागमा क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । भट्टराईको गाडीलाई सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा लगिएको थियो ।
यसअघि एमाले र पहिचान पक्षधर कार्यकर्ताबीच झडप समेत भएको थियो । उनीहरुले भट्टराईको निवास अगाडि प्रदर्शनसमेत गरेका थिए ।
दसैं, तिहार, छठ, नेपाल सम्वत् जस्ता चाडपर्वको अवसरमा भट्टराईसहित एमालेबाट निर्वाचित सांसदहरु उर्मिला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बोले चियापान कार्यक्रम आयोजना गरेका थिए ।