काठमाडौँ । व्यवस्था परिवर्तन गर्ने भन्दै आन्दोलनको घोषणा गरेका विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग आक्रोश व्यक्त गरेका छन् ।
शनिवार सिफलमा आयोजित प्रदशर्नमा बोल्दै प्रसाईले युवाहरु विदेसिएको र देशमा बस्न नसक्ने अवस्था नरहेको भन्दै आफ्नो आन्दोलनलाई असहयोग भए काठमाडौँ खाली दावी गरे ।
‘तपाईंहरु मलाई साथ दिन बाहिर निस्कनु भएन भने काठमाडौँमा स्याल रुन्छ । यहाँ मान्छे हुने छैन’, उनले भने, ‘काठमाडौँ ललितपुर र भक्तपुरबासी कहिले घरबाट बाहिर निस्केर आन्दोलनमा सघाउन आउँछन् ?’ उनले स्वाभिमानको लडाइँमा समयमै सहभागी हुन अनुरोध गरे ।
गणतन्त्रको जग हल्लिसकेको दावी गर्दै प्रसाईले आफूलाई म्यानमारकी नेतृ आङ सान सूचीलाई जस्तै नजरबन्द गर्न खोजिएको आरोप लगाए । २६० वर्षअघि देशको एकीकरण गर्न पृथ्वीनारायण शाहको जन्म जन्म भएकोमा राजा महेन्द्रले देशलाई औद्योगिक युगमा लगेको र अब दुर्गा प्रसाईको उत्पति भएको बताए । ‘यो देशलाई विकास मार्गमा अब म लैजान्छु’ उनले भने, ‘कुनै बेला यो समय मुना चियाको हो भनिन्थ्यो, अब यो समय दुर्गा प्रसाईको हो ।’
राजावादी भन्नेहरु पनि दुर्गा प्रसाई लोकप्रिय भयो भनेर कोठे बैठक गरिरहेको भन्दै उनले राजावादी होइन राष्ट्रवादी बनेर आउन अभियानमा आग्रह गरे । उनले मूलधारका पत्रकारलाई युट्युबरबाट सिक्न पनि सुझाव दिए ।
काठमाडौंबासी आन्दोलनमा नआएकोमा असन्तुष्टि जनाउँदै उनीहरु अझै नबुझे घरको लालपुर्जा मारवाडीको हातमा पुग्ने चेतावनी दिए । ‘तिमीहरुलाई लाज त लाग्छ होला । कट्टु खुस्केर गइसकेको छ’ उनले भने, ‘लाज हातले छोपेर खुसी छु भन्दैछौ, पुस मसान्तपछि तिमिहरु बिउँझिदा तिम्रो हातमा लोटा र केही मारवाडी तस्करको हातमा तिम्रो घरको लालपुर्जा हुनेछ ।’
काठमाडौंका ७० प्रतिशत सटर बन्द भइसकेको दावी गर्दै प्रसाईले ती घरहरु अब खाली हुने र भाडामा बस्ने मान्छे नपाइने ठोकुवा गरे । काठमाडौंबासी आफ्नो आन्दोलनमा नआएमा काठमाडौंमा स्याल रुने दिन आउने उनको दावी छ ।