विराटनगर । बचतकर्ताहरूको करिब ४० करोड रुपैयाँ अपचलन गरेको आरोपमा सुनसरीको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँच सञ्चालक पक्राउ परेका छन् ।
बचतकर्ताको उजुरीको आधारमा संस्थाका अध्यक्ष फणीन्द्र मगरसहित शिला गजमेर, राहुल अग्रवाल, कुमार आले र अर्का एक व्यक्ति पक्राउ परेका हुन् । पक्राउ परेका एक जनाको नाम प्रहरीले खुलाएको छैन ।
बचतकर्ताहरूको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरी उजुरी दिएका थिए ।
उजुरी दिएपछि पटक–पटक बचतकर्तासँग छलफल भएर रकम फिर्ता गर्ने सहमति सहकारीले गरेको भएपनि त्यसको कार्यान्वयन नगरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले पनि सहकारीका अध्यक्षसहित सञ्चालकका विरुद्धमा ठगी मुद्दा दायर गरेपछि उनीहरूलाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ । ठगी प्रकरणको थप अनुसन्धान भइरहेको र पक्राउ परेकाहरूको बयानका आधारमा थप व्यक्ति पनि पक्राउ पर्नसक्ने सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।
गत साउनदेखि सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि बचतकर्ताहरू आन्दोलित बनेका थिए । बचतकर्ताहरूले इनरुवास्थित प्रदेश सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालय र सञ्चालकको घरसमेत घेराउ गरेका थिए । बचतकर्ताले दुर्गाप्रसाद कोइरालाको अध्यक्षतामा सङ्घर्ष समिति नै गठन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमहरू गर्दै आएका थिए ।
सहकारीमा करिब ५ हजार बचतकर्ता रहेको बताइएको छ । सहकारीले मोरङको विराटनगर, बिराटचोक र झापाको दमक गरी ३ स्थानमा सेवा केन्द्रसमेत राखेर कारोबार सञ्चालन गरिरहेको छ ।
व्यापार व्यवसायमा इतिहासमै ठुलो सङ्कट र बैङ्कमा तरलताको अभाव रहेको कारण बचतकर्ताहरूले मागेको बचत रकम एकैपटक फिर्ता गर्न नसकिएको सहकारीले बताउँदै आएको छ । कर्जासमेत ऋणीले एकैपटक तिर्नसक्ने अवस्था नरहेको कारण बचत फिर्तामा समस्या भएको सहकारीको भनाई छ ।

