विराटनगर । मोरङको केराबारी गाउँपालिका ९ र सुन्दरहरैंचा नगरपालिकाभित्र पर्ने लोहन्द्रा केराबारी साझेदारी वनबाट संगठित रुपमा काठ तस्करी गर्ने समूहलाई उन्मुक्ति दिन चलखेल सुरु भएको छ । घना जंगलभित्र जेसिबिले लोड गरि टिपरमा हालेर सालको काठ मिलसम्म ल्याउने गिरोहलाई मिलेमतामो उन्मुक्ति दिने प्रयास भएको हो ।
डिभिजन वन कार्यालय मोरङले गरेको प्रराम्भिक चरणको अनुसन्धानमा मिल सञ्चालकदेखि टिपर र जेसीबी सञ्चालकसम्मको मिलेमतोमा जंगलहरूबाट सालको काठ चोरी तस्करी गरेको खुलेको थियो । शनिबार बिहान मोरङको सुन्दरहरैंचास्थित एक काठ मिलबाट चोरीको काठसहित मिल सञ्चालकसमेत पक्राउ परेपछि अनुसन्धान गर्दा जेसीबी र टिपर प्रयोग गरेर काठ तस्करी गरेको पाइएको थियो ।
सव डिभिजन वन कार्यालय सलकपुरका अनुसार काठ तस्करीमा गोलिया काठ काट्न विद्युतीय आरा प्रयोग भएको देखिएको छ । काटेको काठ टिपरमा लोड गर्न जेसिबी लगिएको पाइएको कार्यालयका एक अधिकृतले बताए । काठ तस्करीमा संगठित समूह रहेको वन कार्यालयको बुझाइ छ ।
सशस्त्र वन सुरक्षा सलकपुरको टोलीले शनिबार बिहान सुन्दरहरैंच–१ हरैंचा बजारबाट चोरी गरेर काठ मिलसम्म पु¥याएको २ लाख रुपैयाँभन्दा बढीको काठ बरामद गरेको थियो । टिपरमा लोड भएको सालको काठ बरामद गरेपछि प्रहरीले मिल सञ्चालकलाई पनि पक्राउ गरेको थियो । टिपरधनी र चालक अझै पक्राउ परेका छैनन् ।
टिपरमा लोड भएको पाँच वटा सालको टुना (३८.९ क्यूफिट) बरामद गरेको ५ दिन बितिसक्दा पनि टिपरधनी पत्ता लगाउन नसक्नुले मिलेमतोको आशंका गरिएको छ । घटना भएको एक साता हुनलाग्दा पनि थप व्यक्ति र घटनामा संलग्न भएको उपकरण नियन्त्रणमा लिन नसक्नुले वन कार्यालयले अन्य आरोपीहरुलाई जोगाउन खोजेको आशंका स्थानीयले गरेका छन् ।
वन सुरक्षा टोलीले टुना बोकेको को १ ख ४४२८ नम्बरको टिपर नियन्त्रणमा लिएर नेहा स–मिलका सञ्चालक बिन्देश्वर साहलाई पक्राउ गरेको थियो । मिल सञ्चालक र टिपरको अनुसन्धान गर्दा तस्करीमा संलग्न अन्य व्यक्ति पक्राउ पर्ने निश्चित छ । तर, अहिले राजनीतिक दबाबमा अनुसन्धान नै अगाडि नबढेको स्रोतले जनाएको छ ।
‘पक्राउ परेका प्रतिवादीलाई म्याद नथप्दासम्म फोन गरेर नेताहरुले हैरानी दिएका थिए’ वन कार्याललय स्रोतले भन्यो, ‘अहिले पनि दिनरात फोन गर्दछन् । तर, हामी घटनाको तथ्यपरक अनुसन्धान गरी अभियोग अदालतमा लैजानेछौं ।’ तस्करीको अनुसन्धान अगाडि नबढाउन नेपाली काँग्रेसका नेताहरुले फोन गर्ने गरेको वन कार्यालयका एक अधिकृतले बताएका छन् ।
डिभिजन वन कार्यालयले पक्राउ परेका काठम मिल सञ्चालक साहलाई पनि बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छोडने आदेश दिएको छ । विरामी भएको कारण देखाउँदै बोलाएको बेला उपस्थिती हुने सर्तमा सरकारी वकिलको कार्यालयले साहलाई हाजिर जमानमा छोड्न आदेश दिएको सहायक वन अधिकृत दिपेशकुमार मिश्रले बताए ।
डिभिजन वनले साहलाई दोस्रो पटक वन ऐन अन्तर्गत म्याद थप गर्न लगेको थियो । तर, साहले सोडिएम बढेको हस्पिटलको रिपोर्ट देखाएर हाजिर जवानीमा छोड्न सरकारी वकिलको कार्यालयमा निवेदन दिएका थिए । सो निवेदनका आधारमा सरकारी वकिलको कार्यालयले बोलाएको बेला उपस्थित हुने सर्तमा उनलाई छाड्न आदेश दिएको हो ।
सहायक वन अधिकृत मिश्रले टिपर धनी, चालक र यस घटनामा संलग्न अन्यलाई पक्राउ गर्न लागिरहेको बताएका छन् । टिपरको धनी पत्ता लगाउन यातायत व्यवस्था कार्यालयमा बुधबार पत्रचार गरेकोमा कार्यालयले जानकारी दिएपछि धनी पक्राउ पर्ने उनको दावी छ । चाडपर्वले गर्दा केही ढिलो भएको भएपनि तस्करीमा संलग्नहरु पक्राउ पर्ने वन कार्यालयको दावी छ ।
लोहन्द्रा–केराबारी वन सरकारी वन हो । यो वन करिब ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ । यसअघि पनि करिब सय क्यूफिट काठ चोरी भएको डिभिजन वन कार्यालयले जनाएको छ । यसअघि पनि चोरी भएको विषयामा अनुसन्धान गर्दै आएको सहायक वन अधिकृत लालबहादुर माझीले बताए ।
अहिले बजारमा सालको प्रतिक्युफिट काठको सरकारी मूल्यांकन १ हजार रुपैयाँ रहेको भएपनि बजार मूल्य ४ हजार छ । चिरान गरेर विक्री गर्दा प्रतिक्यूफिट ५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ ।
पछिल्लो समय वन रक्षकहरूको अभावका कारण पनि केराबारी, सुन्दरहरैंचा, बेलबारी र कानेपोखरी क्षेत्रको बनबाट काठ तस्करी बढ्दै गएको पाइन्छ । तस्करहरूले काठे मिल र फर्निचर उद्योगसँग मिलेमतो गरेर काठ तस्करी र बिक्री गर्ने गरेको पाइएको छ ।

