उर्लाबारी । मोरङको उर्लाबारीमा लक्ष्मीपुजाको दिन भएको आगलागी घटनाका गम्भीर घाइतेलाई थप उपचारको व्यवस्था मिलाउन माग गर्दै बिहीबार उर्लाबारीमा चक्काजाम गरिएको छ ।

गत कार्तिक २६ गते लक्ष्मीपूजाको राति १०ः४५ बजेको समयमा उर्लाबारी वडा नं. ७ निवासी दिपक कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा आगलागी हुँदा भएका घाइतेमध्ये तीन जनाको मृत्यु भएपछि स्थानीय आक्रोशित छन् ।

घटनामा घाइते भएका ४ प्रहरीसहित २८ जनाको उपचार भइरहेको छ । तर, उचित उपचारको अभाबको कारण तीन जनाको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । स्थानीयबासीले गम्भीर घाइतेको थप उपचारमा सरकारको ध्यानाकर्षण गराउन सांकेतिक रुपमा १० मिनेट चक्काजाम गरेको उर्लाबारी ७ का सरोज बस्नेतले जानकारी दिए ।

‘पूर्वपश्चिम राजमार्गअन्तरत उर्लाबारीको मावा खोलामा १० मिनेट सवारी साधन अबरुद्ध गराइएको थियो । घटनाका घाइतेमध्ये ६ जनाको आइसियुमा उपचार भइरहेकोमा उनीहरुको अवस्था गम्भीर रहेको कुरा डाक्टरबाट आएकोले थप उपचारको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ ।
कार्यक्रममा उर्लाबारीका सामाजिक व्यक्तित्व बीरबल थापा, बलबहादुर घिसिङ, घनश्याम भण्डारीलगायतले बोल्दै गम्भीर घाइतेको थप उपचारमा सरकारले ध्यान दिनुपर्ने बताए । सो विषयमा इलाका प्रशासन कार्यालय उर्लाबारी, इलाका प्रहरी कार्यालय उर्लाबारी र उर्लाबारी नगरपालिकालगायतमा ज्ञापन पत्र समेत बुझाइएको उर्लाबारी–७ का टिका सिम्खडाले जानकारी दिए ।

काठमाडौंको किर्तिपुरस्थित वर्न अस्पतालको आइसियुमा उपचाररत उर्लाबारी–७ का शिवकुमार विक (राजिव), विक्रम साह, प्रकाश लिम्बू, रुकुमबहादुर कार्की, कविराज दाहाल र रामनरेश मरिताको थप उपचारका व्यवस्था मिलाउन स्थानीयले माग गरेका हुन् । उनीहरुले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहतको ब्यवस्था मिलाइदिन पनि माग गरेका छन् ।

आगलागी घटनामा बुधबार राति र बिहीबार बिहान थप दुई जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ पुगेको छ । मोरङ प्रहरीका अनुसार बिहीवार बिहान ६ः३० बजे कुमार तामाङ र बुधवार राति हेमकुमार दाहालको उपचारको क्रममा वर्न अस्पतालमै मृत्यु भएको हो । उपचारकै क्रममा यसअघि सोही अस्पतालमा तपन पण्डितको मृत्यु भएको थियो ।

हाल सो अस्पतालमा २२ जना घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।