विराटनगर । धनकुटाको धनकुटा नगरपालिका १ निगालेमा बुधबार राति एक व्यक्तिले श्रीमती र छोराको हत्यापछि आफूले पनि आत्माहत्या गरेको पाइएको छ ।

मजदुरी गरेर गुजारा चलाउँने ३५ वर्षीय टिका गुरुङले ३६ वर्षीया श्रीमती भीमा गुरुङ र १० वर्षका छोरा आयुषको हत्या गरेपछि झुण्डिएर आत्महत्या गरेको खुलेको हो ।

बिहीबार विहान तीन जनाको घरभित्रै शव भेटिएपछि पुगेको प्रहरीले अनुसन्धान गर्दा मापसे गरेका गुरुङले नै श्रीमति र छोराको हत्यापछि आत्महत्या गरेको खुलेको हो । संखुवासभाको चैनपुर नगरपालिका १ नुनढाकी घर भएका गुरुङ परिवारविगत १२ वर्षदेखि स्थानीय माणिकलाल श्रेष्ठको घरमा डेरा बस्दै आएका थिए ।

मादक पदार्थ सेवन गरि सुरुमा उनकी श्रीमती भीमा र छोरा आयुषको हत्या गरेका उनले त्यसपछि ६ वर्षीया छोरी आशिकालाई छिमेकीको घरमा पुर्याएर फर्किएपछि आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । नाबालिका छोरी आशिकाका अनुसार बाबुले सुरुमा आमालाई लडाएर हत्या गरेका थिए । आमालाई बचाउन जाँदा दाजुलाई पनि बाबुले कुटपिट गरेको आफूले देखेको बालिकाले प्रहरीलाई बताएकी छन् ।

प्रहरीका अनुसार श्रीमति र छोराको हत्यापछि राति पौने १ बजे छोरीलाई सोहि घरमा बस्ने लक्ष्मीदेवी श्रेष्ठको कोठामा गुरुङले लगेका थिए । त्यसपछि पुनः कोठामा आएर गुरुङले आत्महत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार श्रेष्ठलाई श्रीमतीसहित आफू बाहिर जानुपर्ने भन्दै छोरी जिम्मा लगाएका थिए । झारफुकसमेत गर्ने गरेकोले सोही कामले उनी बाहिर गएको ठानेर आशिकालाई सुताएर आफू पनि सुतेकोमा बिहान ५ बजे आशिका चप्पल लिन कोठामा जाँदा आमा र दाजु भुइमा लडेको र बाबु झुण्डिएको देखेपछि आफूहरुले घटनाबारे थाहा पाएको श्रेष्ठले बताएकी छन् ।

श्रेष्ठका अनुसार नियमित जस्तो मादक पदार्थ सेवन गर्ने गुरुङको श्रीमतीसँग झैझगडा भइरहने गर्थ्यो । प्रहरीले घटनास्थलमा मृतक टिकाका दाजु सुर्यमान र बैनी सञ्जु पुगेपछि बिहीबार बिहान लास जाँच र घटनास्थल प्रकृति मुचुल्का गरेको थियो । मृतक भीमाको अनुहार र घाँटीमा चोट रहेको छ भने बालकको टाउकाको पछिल्लो भागमा चोट रहेको प्रहरीले जनाएको छ ।

धनकुटा जिल्ला अस्पतालमा पोष्टमार्टम गरि परिवारलाई शव जिम्मा दिइने जिल्ला प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।